चीनमा संक्रमित थपिने क्रम राेकिएन, भारतमा एकैदिन ५ हजार नयाँ संक्रमित भेटिए !

काठमाडौं । चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

कोरोना भाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ । सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ । गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ ।

त्यस्तै भारतमा आइतबार बिहानसम्म कोरोना भाइरसका संक्रमितकाे संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै ५ हजार नयाँ संक्रमित भेटिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९८८ जना र १० हजार ५८५ जना कोरोना संक्रमित भेटिएका छन् ।

भारतीय राजधानी नयाँ दिल्लीमा भने ९ हजार ३३३ जनामा कोरोना पुष्टि भएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *