सरकारका कार्यक्रम ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर जस्तो’ : राजेन्द्र महतो

काठमाडौं। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रमले वर्तमान समयको आवश्यकतालाई समेट्न नसकेको बताएका छन्। नेपाली जनता कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा सरकार झिना मसिना कुरामा अल्झिएको बताए।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेता महतोले सरकारको नीति तथा कार्यक्रम ‘काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर’ जस्तो भएको टिप्पणी गरे। उनले नीति तथा कार्यक्रमलाई रामायण र महाभारत प्रस्तुत गरे झैँ गरेको बताए। उनले भने, ‘रामायण र महाभारतमा भन्दा बढी एपिसोड यहाँ वाचन गरियो। नेपाली जनता कोरोनाबाट आक्रान्त छन्। अहिलेको आवश्यकतामा ध्यान दिइएको छैन। सरकार झिना मसिना कुरामा लागेको छ।’

भारी समर्थनमा बनेको सरकारले झुटो विवरणको आधारमा झुटा आश्वासन बाढ्ने गरेको नेता महतोले टिप्पणी गरे। उनले अहिलेको नीति तथा कार्यक्रम इतिहासमै लामो कर्मकाण्डीका रूपमा प्रस्तुत गरिएको बताए। उनले भने, ‘अर्थतन्त्र जोगाउने कुनै नीति तथा कार्यक्रम छैन। झुटो विवरण कहिलेसम्म दिने ? हावा कुरा गर्ने ? झुटा आश्वासन बाढ्ने। इतिहासमै नभएको लामो कर्मकाण्डीय नीति तथा कार्यक्रम प्रस्तुत गर्ने ? नयाँ पन केही नहुने ? ध्यान भए पो हुन्छ। ध्यान सत्ता जोगाउनेमा मात्र केन्द्रित छ। जनतामा छैन। अनि कसरी राम्रो आउँछ त नीति तथा कार्यक्रम !’

नेता महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम नेकपाको घोषणापत्रजस्तो भएको आरोप लगाए। उनले रातारात दल फुटाउने अध्यादेश ल्याउने सरकारले फेरि राजनीतिक स्थायित्व भनेर वाचन गरिएको प्रति आश्चर्य पनि प्रकट गरे। उनले भने, ‘राजनीतिक स्थायित्व कुरा लेखेको छ नीति तथा कार्यक्रममा तर रातारात दल फुटाउने अध्यादेश ल्याएर स्थायित्व हुन्छ ? नीति तथा कार्यक्रम हेर्‍यो नारै नारा छ। यो त नेकपाको घोषणापत्रजस्तो पो भयो त।’

उनले अगाडि भने, ‘लकडाउनबाहेक सरकारले के गऱ्यो ? राहत बाँड्यो भने कहाँ बाँड्यो ? अर्थतन्त्र जोगाउन के गऱ्यो ? उद्योगी–व्यापारी सङ्कटमा परेका छन्, उनीहरूलाई के गर्ने ? अलपत्र छन् विदेशमा नेपाली नागरिक तर के गर्‍यो ? यसरी जनताको रक्षा हुन्छ ? औषधि खरिदमा पनि भ्रष्टाचार गरेको छ अनि भ्रष्टाचार गर्दिनँ भन्ने सुगारटाइचाहिँ कायमै छ। वैज्ञानिक खेती गर्ने भनिएको छ तर कसरी गर्ने ? जनताले सिँचाइ पाएको छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *