सुनकोशीले बगाएर दुई युवा बेपत्ता, महाकालीमा हाम फालिन् महिला

काठमाडाैं । सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपित्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् ।

आज नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका–७ घर भई हाल फिक्कल गाउँपालिका–४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोशी नदीले बगाई बेपत्ता बनाएको हो ।

प्रहरीलाई सुनकोशी नदीले मानिस बगाएको भन्ने जानकारी आउने बित्तिकै प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको उनको भनाइ छ । बेपत्ताको खोजी कार्यका लागि सातजना प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

महाकालीमा एक महिला बेपत्ता

महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन् । आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन् ।

हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ । महिलाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । हामफालेको कारण भने खुल्न सकेको छैन ।

हामफालेको खबरलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा महिला खोज्न जुटेपनि भेट्टाउन नसकिएको जोशीले बताए । थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टलगायतको टोलीसमेत खटिएको थियो ।

यस्तै दत्तु, जौलजीविबाट लालीसम्मका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत नदी किनारमा परिचालन गरिएको भए पनि महिला फेला पार्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बन्दाबन्दीको समयमा जिल्लामा नदीमा बगेर मृत्यु भएको यो दोस्रो घटना हो । बन्दाबन्दीको समयमा जिल्लामा दुई दर्जन विभिन्न प्रकृतिका घटना घटेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *