खैरहनीको क्वारेन्टाइनमा आइतबार १० जनालाई राखियो
- ध्रुवराज खनाल
चितवन । खैरहनी नगरपालिकाले नयाँ निर्माण गरेको क्वारेनटाईनमा बाहिर जिल्लाबाट आएकाहरुलाई राख्न सुरु गरिएको छ । वडागत रुपमा क्वारेनटानई निर्माणसँगै सम्बन्धिधत वडाहरुमा बाहिरी जिल्लाबाट आएकाहरुलाई राख्न सुरु गरिएको हो ।
आइतबार खैरहनी वडा नम्बर २ को जनजीवन माध्यमिक विद्यालयमा क्वारेनटाईन निर्माण गरेर १० जनालाई राखिएको वडाध्यक्ष टिकादत्त इटनीले बताए । प्रारम्भमा सो विद्यालयमा १५ वेडको क्वारेनटाईन निर्माण गरिएको छ । बाहिर जिल्लाबाट आएका तीन जनाको परिवारलाई क्वारेनटाईनमा राखिएको वडाध्यक्ष इटनीले बताए ।
उनीहरुलाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले नगरपालिकाले वनाएको आचारसंहिताका बारे जानकारी गराएका थिए । क्वारेनटाईनमा बसेकाहरुलाई विद्यालयमै खानाको व्यवस्था मिलाईएको छ । नगरको अन्य ५ वटा माध्यमिक विद्यालयमा पनि क्वारेनटाईन निर्माण गरिएको नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।
चौधरीका अनुसार कंकाली मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि र गवै माविमा क्वारेनटाईन बनाइएको छ । क्वारेनटाईनका लागि आवश्यक सबै सामाग्री नगरपालिकाले व्यवस्था गरेको छ ।
नगरका अन्य वडामा स्थायी ठेगाना भई घर फिर्ता आउने चाहनेहरुले सम्पर्क गरिरहेकाले ति वडामा पनि क्रमैसँग क्वारेनटाईन विस्तार गरिने नगरपालिकाले जनाएको छ । खैरहनी वडा नम्वर ११ मा २७ जना भारतबाट आउँदै गरेको सुचना प्राप्त भएको नगर प्रमुख चौधरीले बताए ।
त्यस्तै अन्य वडाबाट पनि सम्बन्धित वडाका जनप्रतिनिधीहरु र टोल विकास संस्थालाई जानकारी आइरहेकाे छ । नगरपालिकाले बाहिरबाट आउन चाहनेहरुले सम्बन्धित वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, टोल विकास संस्थालाई जानकारी गराउन अनुरोध गरिसकेको छ ।
यसअघि डिज्नी रिसोर्ट पार्क र सैनिक आवासीय महाविद्यालयमा तयारी अवस्थामा रहेको क्वारेनटाईनलाई पछि आवश्यकता अनुसार प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।
बाहिर जिल्लाबाट आउनेहरुलाई सके सम्म आफ्नै वडामा राख्न, व्यवस्थापन सहज बनाउन, खर्च मितव्ययी बनाउन वडागत रुपमा क्वारेनटाईन निर्माण थालिएको खैरहनी नगरपालिका प्रमुख चौधरीको भनाई छ । क्वारेनटाईन निर्माण भएका विद्यालय रहेको वडाका वडाध्यक्षहरुसँग नगरपालिकाले छलफल गरिसकेको थियो ।