मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘नारायण गाेपाललाई स्वरसम्राट बनाउने कटुवाल’

  • प्रकाश सायमी

हरिभक्त कटुवाल अब छैनन्, उनी बाँचेका भए यो वर्ष ८५ का हुन्थे। आँग्लाहरू यस घडीलाई अक्टोजेरियन भन्छन्। उनी अक्टोजेरियनमा हुँदा गाली खाँदै हुन्थे कि ताली, त्योचाहिँ अनुमान गर्न गाह्रो छ।
४२ वर्ष दुई महिनाको जिन्दगी बाँचेर उनी खुदा हाफिज भए।

अहिले बाँचेका स्रष्टाको तुलनामा उनले आधा जीवन पाएका थिए तर ख्याति र चर्चा त्यत्तिकै दोब्बर।
नेपाली समाजमा कटुवाल थरका व्यक्ति चर्चामा आएको र छाएको पहिलो हरिभक्त नै थिए। त्यसको धेरै समयपछिमात्र पूर्वसेनाप्रमुख रुकमांगद कटुवालजी आए, ‘टु’मा उकार हटाएर कटवाल भएर। नत्र दोस्रो कटुवाल अहिलेसम्म कोही जन्मेको छैन हरिभक्तलाई माथ गर्ने।

असार १८ गते उनको जन्म भारत आसामको डिब्रुगढमा भएको थियो, विक्रमाब्द १९९२ मा। भारतमा विक्रमका शाखा सन्तानले शासन छोडेर अन्तिम भायसराय लोर्ड माउन्टवेटन ब्रिटिस राजमा थिए।

आसाम अलग्गै मुलुक थियो, आसामलाई त्यो बेला अखोम् भन्थे। अखोम्जस्तै त्रिपुरा पनि अलग्गै मुलुक थियो त्यो बेला र त्यहाँ वर्मन वर्ग शासनाधिकारी थिए।

हरिभक्तको समस्या के थियो भने उनी यता बसेर पनि यताका हुन सकेनन्, उता गएर पनि उताका हुन सकेनन्। उनको आउनेजाने क्रम चलिरह्यो। न उनी यताका भए, न उताका।

त्यही वर्मनवंशका उत्तराधिकारी राजपाट छोडेर मुम्बईको बलिउडमा पुगेका थिए, ती थिए सचिनदेव वर्मन। सचिनदेवलाई एसडी वर्मन भन्छन् आजकाल। एसडीकै संगीत अनुयायी भएर आसामबाट आएका थिए, भूपेन हजारिका।

उनी कोलकातामा बसेर भाग्य अजमाउन खोज्दै थिए तर उनको हत्याको खबर आसामभरि फैलिएको थियो। उनलाई आसामका युवाले देशविरोधी घोषणा गरेका थिए, बंगालीसित मिल्यो भनेर।

भूपेन हजारिकापछि हिन्दी फिल्ममा संगीत गरेर चर्चित पनि भए, विशेषत: लता मंगेशकरसितको निकटता र पछि लतामाथि उनले डायरीमा लेखेका केही पंक्तिले लतालाई समेत विवादमा ल्याए।

यिनै हजारिकाकी पत्नी प्रियंगुले पछि आएर लता र मेरो पतिको अवैध सम्बन्ध छ भनेपछि लता पनि चूप हुनु परेको थियो।
यो कुरा उनकी पत्नीले भूपेनले लेखेको डायरीको अंशबाट पढेको भनेर दाबा गरेकी छन्। त्यसैले भारतका बौद्धिकजन भूपेनलाई सम्झँदा वा गाली गर्दा लेखेरै मर्‍यो भन्छन्।

उनले त्यति नलेखेको भए सरस्वतीकी देवी मानिएकी लता अक्षुण्ण मानिन्थिन् भारतवहुल समाजमा। तर त्यो हुन दिएनन् भूपेनले। भूपेनको जीवनको अन्त्यतिर फिल्मकार गुरुदकी भदैनी कल्पना लाजमीसित लामो समय लिव् इन रिलेसिप चल्यो र यो मृत्युपूर्वसम्म कायमै रह्यो।

ती ‘लेखेरै मरेका’ भूपेन हजारिका आसामका तारा थिए, उनकै पछि लागेर एक नेपाली गायिका अञ्जुदेवी सिंह निकै चर्चामा आइन्। अञ्जुले आसामी, हिन्दी र बांग्लामा थुप्रै गीत गाएकी पनि छन्। भनिन्छ, उनैको कारण भूपेन कार्यक्रममा भादगाउँले टोपी लगाउँथे रे।

अञ्जुदेवीकै स्वरले चर्चामा आए कवि हरिभक्त कटुवाल…
त्यो दिन ढलेर के भो
यो साँझ त बाँकी नै छ।

अम्बर गुरुङको संगीतमा अञ्जुदेवीले गाएको यो गीत बीसको दशकमा रेकर्ड भएको थियो रेडियो नेपालमा। यो समय भूपेन हजारिका पनि काठमाडौंमै अमूर्त कलाको अध्ययन गर्ने क्रममा कीर्तिपुर र भक्तपुरतिर थिए।
यही समय पुर्खाको हड्डी खुड्डी खोज्दै हरिभक्त पनि नेपाल आएका थिए।

भूपेन फर्के। अञ्जुदेवी पनि फर्किइन् तर हरिभक्त यतै बसे।

आसाम विशाल भारतमा एक प्रान्तका रूपमा विस्तीर्ण भइसकेको थियो, अखोम् देशको अहम् त्यागेर।
इतिहास छिटपुटमा रूपमा कतै नमिले पनि हरिभक्तसित मेल खान्छ।
हरिभक्तको समस्या के थियो भने उनी यता बसेर पनि यताका हुन सकेनन्, उता गएर पनि उताका हुन सकेनन्। उनको आउनेजाने क्रम चलिरह्यो। न उनी यताका भए, न उताका।

आसामका प्राय: स्रष्टा, कलाकार वा नेताको यो समस्या अहिले पनि छ, देश नहुनुको पीडा। हरिभक्तको यो पीडा जगजाहेर थियो तर हरिभक्तको अर्को पीडा त झन् उजागर भयो यहाँ आएपछि, अपारिवारिक हुनुको पीडा।

उनकी पत्नी र उनका भाइपरिवार पनि उनीसित खुसी थिएनन् भन्ने बुझियो। हरिभक्त जीवनको अन्त बेलासम्म यहीँ बसे, पछि स्वास्थ्योपचार गराउँछु भनेर जन्मभूमि फर्के र त्यहीँ प्राण त्यागे २०३७ साल भदौ २५ मा। उनी बित्दा नेपालमा भर्खरै बहुदललाई हराएर निर्दलीय व्यवस्थाले जनमत पाएको थियो र उनले अन्तिम रचना पनि

त्यहीबारेमा लेखेका थिए,
‘बहुदलको हार
हाम्रो हार हो।’

यो उनको रचना उनकै हस्तलिपिमा ‘आकुञ्चन’को आवरणमा छापिएको थियो।

उनको यो रचनामा नेपालप्रेम थियो किनकि उनी नेपालका अरू कविजस्तै भएर क्रान्तिमा उत्रेका थिए, सडक कविता क्रान्तिमा। प्राय: यो संस्कार दार्जिलिङ, आसाम, देहरादुनबाट आएका लेखक कलाकारमा पाइँदैन।
ती नेपालमा केही उथलपुथल भयो भने हाम्रो भारत भन्दै जन्मस्थान फर्किहाल्छन् तर हरिभक्तले एक स्रष्टा भएर त्यो अर्थमा नेपालप्रति बेइमानी गरेनन्।

उनी नेपाली युवाको भविष्यप्रति चिन्तित थिए नै। त्यति बेला नै उनले भोलिको नेपाल सम्झेर लेखेका थिए,
“…ती जो बिहानै काखीमा
पुस्तकको ठेली च्यापेर
हूलका हूल निस्किरहेछन्
गल्लीगल्लीबाट
तिनलाई बाटो छोडिदेऊ
ती लहरजस्तै उर्लेर आइरहेछन्….”

२०४६ साल वा ६२/६३ को आन्दोलनमा कुनै दार्जिलिङ, कालिम्पोङ, आसमबाट आएर नेपाली भएर बसेका कुनै सिनेकर्मी, संगीतकर्मी, साहित्यकर्मी वा रंगकर्मी मैदानमा देखिएनन्, मानौं यो उनलाई पालनपोषण गर्ने देश नै होइन।

बरु ती नेपाली नागरिकतामा अमेरिका पलायन हुन तयार भए तर नेपाली र नेपालको स्वप्न निर्माणको लहरमा एक दिन उभिएनन्। वा त्यस आन्दोलनको पंक्तिमा एक दिन धर्नामा आएनन्। यस कुरामा यी र यस्ता प्रवृत्तिका सबैलाई दनक दिएर गए, कटुवालले।

कटुवाल यस अर्थमा तीभन्दा एककदम अगाडि। र, सधैं एक कदम अगाडि नै रहे। हरिभक्त कटुवाल बित्दा यो राष्ट्र आधा शोकमा थियो, जनमतसंग्रहमा धाँधली भएर जनमतको पराजय भएकोमा। कटुवालको शोकमा कसैले आँसु बगाउन पाएनन् तर रेडियो नेपालले उनी बितेको दिनभरि उनका तीनचार गीत
बजाइरह्यो,
बतासले झारेका फूलहरू सँगालेर राखे है…
पोखिएर घामको झुल्काभरि सँघारमै…
मेरो यो गीतमा जो मूच्र्छना छ त्यो तिमी होइनौ…
तिमी फूलहरूमा किन हाँसिरह्यौ… आदि आदि।
(स्मरणीय रहोस्, यति बेलासम्म उनको अर्को गीत मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठीकै छु, रेकर्ड भएको थिएन।)

हरिभक्तलाई त्यति बेलाका युवाकवि लेखकले भावभिनी भएर सम्झे, रोए पनि। उनको समयमा लेखनमा देखिएका युवाकवि लेखक जीवन आचार्य, दिनेश सत्याल, दिनेश अधिकारी, अशेष मल्ल, गगन विरही, किशोर पहाडी, कणाद महर्षि निकै भावुक भए।

कटुवाल र नारायणगोपाल एकअर्कालाई सम्बोधन गर्दा कट्टुवाल र पाइन्टवाल भन्थे। जीवन ठट्टामा बिताए पनि दुवैले गीतमा गाम्भीर्य भाव पछिसम्मै कायम राखे।

पोखराबाट उनको सम्झनामा कटुवाल विशेषांक पनि निकाले पोखरेली सर्जकले। त्यो पोखराको गुण नै मान्नुपर्छ कटुवालप्रति।
कटुवाललाई नजिकबाट देखेर चिन्ने मान्छे कम थिए, त्यसमध्ये पंक्तिकार स्वयं पनि एक हुनुको अपराध स्वीकार्छ। कटुवाललाई नचिनेर पनि चिनेको बहानामा तथानाम लेख्ने कति थिए, त्यस्ताप्रति पंक्तिकारको सदैव आपत्ति छ।

अहिलेका नाम चलेका एकजना पत्रकारले भानु मासिकको कटुवाल विशेषांकमा यस्तो लेखेको पनि पाइयो, ‘४१, ४२ सालतिर कटुवाल बिहानै मेरो घर आइरहन्थे धोबीधारामा।’

कटुवाल मरिसकेपछि पनि उनको घर आएको कुरा उनी कसरी लेख्न सक्थे, कसैले नारायणगोपाल बितेको एक वर्षपछि कुनै लेखकको बिहेमा आएको कुराजस्तो।

नारायणगोपाल र हरिभक्त कटुवाल यस्ता कटु मधु स्मरणमा हरेक नेपालीको जीवनमा जोडिइरहन्छन् विश्वास भए पनि नभए पनि। लेख्नेलाई एक किसिमको तातो आनन्द आइरहँदो हो। हिन्दुस्तानमा गालिबले यस्तै जीवन बाँचे, भए नभएको, भ्रमको, मायावी जालोको। यस्तो सौभाग्य (भनौं वा दुर्भाग्य?) हामीकहाँ कटुवाल र नारायणगोपालले धेरैधेरै नै पाए।

नारायणगोपाल र कटुवालले आफ्नो जीवनमा गालिबन भएर बाँच्ने प्रशस्त मौका पाए। असन, कमलाछी, भोटाहिटी, मासाँगल्ली, रञ्जनाको गल्ली, ढोकाटोल… यी सारा बाटो कटुवालले कहिले नारायणगोपालसित, कहिले भूपिसित, कहिले ईश्वरवल्लभसित, कहिले बलराम थापासित बिताएका थिए।

कटुवाल र नारायणगोपाल एकअर्कालाई सम्बोधन गर्दा कट्टुवाल र पाइन्टवाल भन्थे। जीवन ठट्टामा बिताए पनि दुवैले गीतमा गाम्भीर्य भाव पछिसम्मै कायम राखे।

नारायणगोपाल फुटबलका फ्यान थिए, कटुवाल क्रिकेटका। कटुवाल गुरुदत्त हेर्थे पर्दामा, नारायणगोपाल दिलीपकुमार। नारायणगोपालका सबै गीतमा कटुवाल जिउँदा छन्।

कटुवालले कविता, कथा, गीतबाहेक नाटक पनि लेखे तर चलेन। तर उनको जीवनमा लेखिएका दुई वायोपिक नाटक सर्वाधिक सफल भए।

कवि नाटककार अशेष मल्लले लेखेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ मञ्चन हुँदा काठमाडौंमा तहल्का मच्चिएको थियो।
यही नाटकमा आजकी चर्चित अधिकारकर्मी सपना मल्ल प्रधानले कटुवालकी पत्नीको भूमिकामा सशक्त अभिनय गरेर ख्याति पाएकी थिइन्।

तर वास्तवमै कटुवालकी पत्नी जसकुमारीले कति दु:ख पाइन्, यसको हिसाब न कटुवाललाई थाहा छ, न कटुवालप्रेमीलाई नै।
यो नाटक मञ्चन भएपछि स्वरसम्राट् नारायणगोपालले आफ्नो संगीतमा यो गीत रेकर्ड गरे, जसमा संगीतसंयोजनमा दिव्य खालिङले अद्भुत छाप छोडे,

कतै बिरानीमा हराएँ भने म
कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ति यही ठाने पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ।।

यस गीतको रेकर्डिङपछि कटुवाल पुनर्जीवित भए र सम्झे उनलाई सारा जगत्ले एकपटक विभिन्न सन्दर्भमा।

उनका छोरा दिगन्त क्षेत्रीले यो गीत रेकर्ड भएपछि स्वरसम्राट् नारायणगोपाललाई पठाएको पत्र इतिहास बन्नसक्छ तर पत्र ल्याउने उनका आसामी मित्रले बेइमानी गरेपछि नारायणगोपालले भनेका थिए, ‘आसामीहरू कटुवालका साहू निस्के, उनलाई बेच्दै खाए।’

कटुवालका धेरै गीतमा संगीत गर्ने र उनीसित धेरै संगत गर्ने अम्बर गुरुङ भन्छन्, ‘कटुवालको एउटा छोटा बानी छ। धेरैलाई एउटै गीत बाँडिहिँड्छ। संगीत गर्नुअघि उसलाई सोध्नुपर्छ।’

कटुवालको यो अप्रिय बानीको सिकार पंक्तिकार स्वयं पनि भएको छ, उनले मलाई डायरीमा लेखिदिएको गीत म अन्तिम मान्थेँ, मैले त्यो गीत नयाँ गायक रूपकुमार राईलाई रञ्जित गजमेरको संगीतमा गाउन दिएँ,

कस्तो बाटो हिँडिएछ
फूल कतै भेटिएन
काँडा धेरै थिए होलान्
पाइला त्यहाँ टेकिएन…”

गीत रेकर्ड भएपछि थाहा भयो, यो मुम्बईमा संघर्षरत नेपाली गायक उदितनारायण झासित पनि एक प्रति सुरक्षित रहेछ।
कटुवाल कहाँ कता कुन अवस्थामा छरिएका छन्, यो पत्ता लगाउन यो लेखले पुग्दैन।

उनी धेरैका संस्मरणमा धेरै किसिमले छन्, सीके रसाइली, दीपक जंगम, तोया गुरुङ, मुरलीधर आदिआदिका स्मृतिपटबाट केही आउन बाँकी नै छ अझै।

आएका जति सबै सत्य नभए पनि उनी बाँचेका छन्, सबैको मृत अमृत स्मृतिमा।

Twitter: @sayamiprakash

प्रतिकृयाहरु
Loading...