भरतपुर महानगरमा पनि क्वारेन्टाइन बनाइँदै
चितवन । भरतपुर महानगरपालिकामा कोरोना संक्रमित जिल्ला तथा बाहिरी देशबाट समेत मान्छे आउन थालेपछि हरेक वडास्तरमा क्वारेन्टाइन निर्माण गरिने भएको छ ।
महानगर कार्यपालिकाको हिजो आइतबार बसेको बैठकले क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको छ । ती निर्णयका आधारमा वडातहमा क्वारेन्टाइन व्यवस्थापन गर्न महानगरपालिका कार्यालयले सबै वडालाई पत्र काटेको छ ।त्यसमा हरेक वडामा न्यूनतम १० बेड क्षमताको क्वारेन्टाइन स्थापना गर्न भनिएको छ ।
स्थानीय लज, तालिम केन्द्र, होटल, विद्यालय वा सामुदायिक भवनजस्ता स्थानमा क्वारेन्टाइन स्थापना गर्न भनिएको छ । साथै कमभन्दा कम खर्च हुने गरी क्वारेन्टिन स्थापना गर्न पनि पत्रमा भनिएको छ । क्वारेन्टिनमा आवश्यक बेडका लागि होटल, होमस्टे, अस्पताल, विद्यालय तथा होस्टलहरुबाट पलङ लिने र म्याट, तन्ना, खोल, झुलजस्ता अत्यावश्यक सामान महानगरको जिन्सी शाखाले व्यवस्थापन गर्नेछ ।
क्वारेन्टाइनमा बस्नेका लागि खाना र खाजाको प्रबन्ध सम्बन्धित परिवारले नै गर्नुपर्नेछ । केही गरी क्वारेन्टाइनमै खाना बनाउनुपर्ने भएमा भान्सा, बाथरुम तथा शौचालय सरसफाइ क्वारेन्टिन बस्ने आफैंले सफा गर्नुपर्ने नियम बनाउन महानगरपालिकाले निर्देशन दिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा उपप्रमुख पार्वती शाहसहित कांग्रेसका कुनै वडाध्यक्ष सहभागी थिएनन् । भरतपुरमा स्थापित कोरोना विशेष अस्पतालमा महानगरका कर्मचारीसमेत मिली सामान चोरी गरेको आरोप लागे पनि तिनलाई कारबाही नगरिएको भन्दै कांग्रेस वडाध्यक्षहरुले महानगरका सबै कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।