कोरोना महामारीविरुद्ध सरकार संवेदनशील देखिएनः शशांक कोइराला

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता शशांक कोइरालाले कोरोना महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले भ्रष्टाचारमा सरकार लिप्त रहेको प्रस्ट भएको बताए।

उनले भनेका छन्, ‘यो विपद्को बेला नेपाली काँग्रेसले सरकारलाई निरन्तर साथ दिइरहेकै छ। तर, महामारीसँग जुध्नको लागि सरकारले आजसम्म गरेका तयारी र काम अपेक्षाकृत रूपमा परिणाममुखी हुन सकेका छैनन्। आजसम्म पनि स्वास्थ्य कर्मीको लागि पर्याप्त सुरक्षा उपकरणको उपलब्ध नहुनु, विश्वसनीय परीक्षण किटको अभाव हुनुले सरकार असंवेदनशील भएको प्रस्ट हुन्छ।

कोइरालाले अगाडि भने, ‘नीति तथा कार्यक्रममा सरकारले सुशासन, शान्ति सुरक्षा कायम गरेको, भ्रष्टाचार विरुद्ध कारबाहीलाई तीव्रता दिएको भनिएको छ। तर महासंकटको यस्तो अवस्थामा समेत सरकार संवेदनशील नभएर भ्रष्टाचारमा लिप्त भएको कुरा त औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रक्रियामा अनियमितता भएको र प्रक्रिया रद्द भएबाटै प्रस्ट छ। यति काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड तथा संसद् अपहरण जस्ता काण्डहरू छताछुल्लै छन्।’

कोरोनाका कारण विदेशमा अलपत्र रहेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउन उनले सरकारलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख भए पनि त्यसका लागि खास कार्य योजना भने आएन। संकटमा परेका विश्वभर रहेका सबै देश फर्कन चाहने नेपाली नागरिकलाई सरकारले स्वास्थ्य परीक्षण गरी आवश्यक भए क्वारण्टीनमा राखी सुरक्षित एवं सम्मानजनक तवरमा घर फर्काउने व्यवस्था गर्न आग्रह गर्दछु।’

सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको बताए। रोजगारीको ठुलो माध्यम साना मझौला तथा ठुला उद्योगहरू धराशायी बनिरहेको बेला सरकारले त्यसलाई जोगाउन ठोस योजना ल्याउन नसकेको उनको भनाइ छ। वैदेशिक रोजगारीबाट नागरिकहरू फर्किरहेको अवस्थामा मुलुकको अर्थतन्त्र थप संकटमा पर्ने भएकोले उद्योगहरू जोगाउने ठोस योजना बनाउन सरकारलाई सुझाव दिए।

उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किन बाध्य हुने नागरिकको समस्या सम्बोधन गर्न सरकारसँग कुनै सोच र तयारी छैन। यस्तो कठिन अवस्थामा समेत मुलुकको अर्थतन्त्रलाई अगाडी लैजाने विषयमा सरकारले ठोस योजना ल्याउन नसक्नुले निजी क्षेत्रहरूलाई थप निराश बनाएको छ। ठुलो रोजगारीको माध्यम बनेका कतिपय साना मझौला तथा ठुला उद्योगहरू धराशायी हुनबाट जोगाउने कुनै योजना नै छैन। उत्पादन मूलक क्षेत्र तथा उद्योगहरूलाई संरक्षण गर्न सकिएन भने मुलुकको अर्थतन्त्र नै संकटमा पर्ने छ त्यसैले सरकाले प्रभावित उद्योगहरू जोगाउन योगदान दिनुपर्छ। लामो समयसम्म प्रभावित हुने पर्यटन लगायतका उद्योग, व्यवसायलाई राहत र उत्थान प्रदान गर्न सरकारसँग कुनै योजना छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *