बंगालको खाडीमा शक्तिशाली चक्रवात विकसित, पूर्वी नेपालमा सतर्क रहन आग्रह

काठमाडौं । हाल दक्षिण बंगालको खाडीको मध्य भागमा ‘अम्पुन’ नामकाे शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भएको र यसले पूर्वी नेपालको मौसममा प्रभाव पार्ने जल तथा मौसम विभागले जनाएको छ ।

उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली भइ हावाहुरीसहित वर्षा हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबारपछिको २–३ दिनसम्म देशैभरि बदली भई केहि स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने मौसमविदको भनाइ छ ।

‘उक्त चक्रवात २–३ दिन भित्रै उत्तरतर्फ सर्दै भारतको पश्चिम बंगालको तटिय क्षेत्रबाट जमिनको भू–भागमा प्रवेश गर्ने सम्भावना छ । उक्त मौसमी प्रणाली नेपालमा प्रवेश गर्ने सम्भावना नभएपनि यसको प्रभावले आँउदो मंगलबार देखि देशैभरको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशको खासगरी पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ’, महाशाखाले पूर्वसूचना जारी गर्दै भनेको छ ।

यो चक्रवात शक्तिशाली भएपनि यो पूरै प्रणाली नेपालमा प्रवेश नगर्ने हुँदा नेपालमा त्यसको असर मात्र आइपुग्ने र धेरै क्षति नगर्ने विभागकाे अनुमान छ । मंगलबार नेपाल प्रवेश गर्ने चक्रवातको बादलले बिहीबारदेखि नेपालमा वर्षा र हिमपात सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *