नीति तथा कार्यक्रम कोरोनाको चुनौतीमा अल्झिएर बस्ने होइनः विष्णु पौडेल

काठमाडौं। सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले नीति तथा कार्यक्रमले नेपाली भूमिको रक्षा र राष्ट्रिय स्वाधीनताको सबलीकरणका लागि सरकार अविचलित रहेको देखाएको बताएका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा पौडेलले राष्ट्रिय सहमति जुटाएर सरकार अघि बढ्न चाहेको बताए। उनले राष्ट्रिय हितको पक्षमा सरकार दृढताका साथ उभिने समेत बताए।

उनले भने, ‘सरकार सिंगो राष्ट्रलाई एकताबद्ध गरेर र राष्ट्रिय सहमति जुटाएर अघि बढ्न चाहन्छ, राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिँदै छिमेकी मित्रराष्ट्रहरूसँग असल सम्बन्ध राख्न चाहन्छ, विगत देखि थाती रहँदै आएका वा हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कूटनीतिक वा राजनीतिक वार्ताद्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको छ।’

मातृभूमिको रक्षा तथा सम्पूर्ण नेपालीको सम्मान र स्वाभिमान सर्वोपरि हुनुपर्दछ भन्ने मान्यतालाई सरकारले आत्मसात् गरेको उनले बताए। पौडेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने सपना र संकल्पका साथ आएको नीति तथा कार्यक्रम आएको बताए। उनले समृद्धि हासिल गर्न नेतृत्व स्वप्नदर्शी हुनुपर्ने समेत बताए।

उनले भने, ‘सदनमा सपनाको प्रसंग उठेको छ। सपना नदेखी तस्बिर बनाउन सकिन्न। सपना सम्म पनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्व गर्न सक्तैन। त्यसर्थ, नेतृत्व स्वप्नदर्शी हुनैपर्छ। हो, सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्दछ।’

पौडेलले राज्य कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरे। उनले भनेका छन्, ‘नीति तथा कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन, त्यसलाई सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक–सामाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने संकल्पका साथ प्रस्तुत भएको छ।’

उनले सरकारले जस्तोसुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास राख्नुपर्ने बताए। सिंगो विश्व नै कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भए पनि राज्य आफ्ना आधारभूत अभिभाराबाट विमुख हुन नसक्ने पौडेलले बताए।

नेकपा महासचिव विष्णु पौडेल प्रतिनिधिसभामा व्यक्त गरेको मन्तव्यको पूर्णपाठ

सभामुख महोदय, आर्थिक बर्ष २०७७/७८को नीति तथा कार्यक्रमका सम्बन्धमा विचार व्यक्त गर्ने अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै संक्षिप्तमा आफ्नो धाराण राख्न चाहन्छु ।

सभामुख महोदय, सर्वप्रथम कोविड–१९ को विश्वव्यापी महामारीको कारण जीवन गुमाउनुहुने नेपाली तथा संसारभरीका दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उपचाररत र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । जीवनको प्रवाह नगरी अग्रभागमा रहेर यस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सक्रिय भूमिका निर्वाह गर्नुहुने चिकित्सक, स्वास्थ्यकर्मि, सफाईकर्मि, नेपाली सेना, प्रहरी लगायत सम्पूर्ण सुरक्षा निकाय, सबै तहका जनप्रतिनिधिहरु, सहयोगदाता महानुभावहरु, विदेशी मित्रराष्ट्रहरु, संचार जगत र सरकारी निर्णय पालना गरेर कोविड– १९ नियन्त्रणमा योगदान गर्नुहुने आम जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सम्माननीय राष्ट्रपतिज्यूको सम्वोधन मार्फत यस सम्मानित संसद समक्ष प्रस्ुतत आर्थिक बर्ष २०७७/७८ को नेपाल सरकारको नीति तथा कार्यक्रमलाई म दृढतापूर्वक समर्थन गर्दछु ।

नीति तथा कार्यक्रमले आगामी आर्थिक बर्षको बजेटलाई निर्देशित गर्नुपर्दछ, बर्षभरीका लागि सरकारको काम र समग्र राज्यप्रणालीलाई मार्गदर्शन गर्नुपर्दछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालु भए पश्चात चरणवद्ध रुपमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरागर्ने संकल्पका नीति तथा कार्यक्रम आउने गरेको छ । मैले यस पटक पनि त्यसैगरी आएको छ पाएको छु ।

यो नीति तथा कार्यक्रम निर्वाचनका बेलमा ५ बर्षका लागि जनतासमक्ष गरिएको प्रतिवद्धताको चरणवद्ध कार्यान्वयनको संकल्प बोकेर आएको छ । आगामी आर्थिक बर्षमा के के गर्ने भन्ने प्रतिवद्धता सहित आएको छ ।

सदनमा सपनाको प्रसंग उठको छ । सपना नदेखि तस्वीर बनाउन सकिन्न । सपना सम्म पनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्व गर्न सक्तैन । त्यसर्थ, नेतृत्व स्वप्नदर्शी हुनैपर्छ । हो, सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्दछ । सरकारको नीति तथा कार्यक्रम कोविड– १९ ले सिर्जना गरेको चुनौतीको सामना गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरागर्ने सपना र संकल्पका साथ आएको छ । नीति तथा कार्यक्रमले आधारहिन सपना बाँडेको छैन, बरु यो स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटका साथ आएको छ ।

सभामुख महोदय, यदाकदा नीति तथा कार्यक्रमलाई महत्वाकाँक्षी भनेको पनि सुनियो । मेरो विचारमा यो महत्वाकाँक्षी होइन, उच्च आकाँक्षी छ । श्रोत, साधन र सामथ्र्यको अधिकतम परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको छ । मेरो विचारमा नीति तथा कार्यक्रम संभावनाको न्यूनतम् सिमारेखाको नजिक होइन, उच्चतम सिमारेखाको नजिक भएरै आउनु पर्दछ र यसरी नै आएको पनि छ ।

नीति तथा कार्यक्रम कोविड– १९ को महामारी र त्यसले मानव जीवनको रक्षा तथा आर्थिक–सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने ? कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउने ? प्रकृतिको सुन्दरतम् श्रृष्टि मानव जीवनको रक्षा कसरी गर्ने ? यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई कसरी सामना गर्ने ? भन्ने जस्ता बिषयहरुमा तत्कालका अभिभारा निश्तित गरेको मात्र होइन, पोष्ट कोविड योजना सहित प्रस्तुत भएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा थप क्षति हुन नदिन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नमा केन्द्रीत भएको छ ।

सभामुख महोदय, सरकार र समग्र राज्यप्रणाली प्रकृती वा मानव सिर्जित साना वा ठूला घटना, दुर्घटना वा चुनौतीबाट विचलित हुँदैन, हुन मिल्दैन । सरकारले, राज्यले जस्तासुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आम वा आधारभूत आवश्यकता पुरागर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढ्नु पर्दछ । प्रस्तुत नीति तथा कार्यक्रम त्यसरी नै आएको छ । नीति तथा कार्यक्रम कोविड–१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन, त्यसलाई सुझबुझ, साहस र बस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक–समाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरा गर्ने संकल्पका साथ प्रस्तुत भएको छ ।

यस पटकको नीति तथा कार्यक्रम समस्त मानव जाति र सिङ्गो विश्वले सामना गरिरहेको कोविड– १९ को चुनौती परास्त गर्दै अगाडी बढ्न रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत भएर आएको छ । कोविड– १९ का विरुद्धमा केन्द्रीत भईरहँदा पनि राज्य आफ्ना आम वा आधारभूत अभिभाराबाट विमुख हुन सक्तैन भन्ने मान्यता बोकेर आएको छ ।

नीति तथा कार्यक्रम बदलिएको परिस्थिति अनुरुप कोविड– १९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा लगानी केन्द्रीत गर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने संकल्पका साथ आएको छ । मितब्ययीता अपनाउने, फजुल खर्च रोक्ने, सुशासन प्रवर्धन गर्ने र उत्पादन वृद्धि तथा रोजगारी सृजनामा केन्द्रीत हुने अठोटका साथ आएको छ । अर्थतन्त्रलाई सबल, स्वाभलम्बी र आत्मनिर्भर तुल्याउने तथा उपलब्ध परिस्थितिमा संभव सिमा सम्मको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ आएको छ ।

सभामुख महोदय, नीति तथा कार्यक्रम कोविड– १९ लाई परास्त गर्ने र उर्जा, सडक, सिंचाई, रेलमार्ग, खानेपानी जस्ता पूर्वाधारहरुलाई पनि एकसाथ अगाडी बढाउने अठोटका साथ आएको छ । आगामी आर्थिक बर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश नं. २ को मुहार बदल्ने सुनकोशी–मरिन–बागमती डाईभर्सन आयोजनाको निर्माणकार्य आरम्भ गर्ने तत्परता निकै नै महत्वपूर्ण छ । अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय आवद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवन रेखा सावित हुने हैसियतका वीरगञ्ज–काठमाण्डौ, केरुङ–काठमाण्डौ तथा पूर्वपश्चिम रेलमालर्गको निर्माणकार्य आगामी बर्ष भित्र प्रारम्भ गर्ने अठोट चानेचुने बिषय होइन । तमोर–चिसाङ, माडी–दाङ र कालिगण्डकी–तिनाउ डाइभर्सन जस्ता आयोजनाहरुलाई अघि बढाउने तत्परता साधारण बिषय होइन । श्रोतको व्यवस्थापन गरेर बुढी गण्डकी, पश्चिम सेती जस्ता जलविद्युत आयोजनाहरुलाई अघि बढाउने संकल्प पनि त्यत्तिकै महत्वपूर्ण छ । भूमी बैंक स्थापना गर्ने र खाद्यान्न, दुध, माछामासु, तरकारी तथा फलफूल जस्ता उत्पादनमा आत्मनिर्भर हुन लगानी केन्द्रीत गर्ने बिषयको महत्वलाई निकट विगत र वर्तमानमा नेपालले भोगको पिडाले दर्शाएको छ ।

कोविड– १९ द्वारा सिर्जित कल्पनातित चुनौतीका बावजुद श्रोत व्यवस्थापनमा आन्तरिक श्रोत परिचालनलाई मूख्य आधार बनाउने अठोट नीति तथा कार्यक्रमको अर्को महत्वपूर्ण विशेषता हो । मेरो विचारमा नीति तथा कार्यक्रमको महत्व लामो वा छोटामा होइन, त्यसमा अन्तनिहित अन्तरवस्तुमा खोजिनु उचित हुन्छ । त्यस दृष्टिले यो नीति तथा कार्यक्रम सही, समयोचित र आत्मविश्वासयुक्त छ । यो परिस्थितिको सिमाभित्र रहेर पुरागर्न सकिने स्पष्ट लक्ष्य तथा कार्यान्वयनको मूर्त योजना हो भन्ने कुरा स्पष्ट छ । यसले आगामी जेठ १५ गते अर्थमन्त्रीद्वारा संघीय संसद समक्ष प्रस्तुत हुने बजेट अर्थात राजश्व र व्ययका लागि पनि स्पष्ट दिशा निर्देश गरेको छ । आगामी बजेटमा यस् नीति तथा कार्यक्रमको मर्मलाई आत्मसात गरिने छ, राजश्व परिचालन र विनियोजन कुशलताद्वारा यसको कार्यान्वयन सुनिश्चित गरिनेछ भन्नेमा विश्वास व्यक्त गर्न चाहन्छु ।

नीति तथा कार्यक्रमले वर्तमान सरकार नेपाली भूमिको रक्षा र राष्ट्रिय स्वाधिनताको सबलीकरणका लागि अविचलित छ, त्यस निम्ति सिङ्गो राष्ट्रलाई एकतावद्ध गरेर र राष्ट्रिय सहमति जुटाएर अघि बढ्न चाहन्छ, राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिदै छिमेकी मित्रराष्ट्रहरुसंग असल सम्बन्ध राख्न चाहन्छ, विगत देखि थाती रहँदै आएका वा हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यबाट समाधान गर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कुटनीतिक वा राजनीतिक वार्ताद्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको छ । सरकारका लागि मातृभूमीको रक्षा तथा सम्पूर्ण नेपालीको सम्मान र स्वाभिमान सर्वोपरी हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको छ ।

सभामुख महोदय, कोविड–१९ ले गर्दा नेपाल मात्र होइन, सिङ्गो विश्व र समस्त मानवजातिले नै कल्पनातित संकटको सामना गर्नुपरेको वर्तमान समयमा राष्ट्रका सामु उपस्थित सबै प्रकारका चुनौतीको सामना गर्न हामीमा पनि अभूतपूर्व राष्ट्रिय एकताको खाँचो छ । आजको आवश्यकता हामीले परम्परागत ढाँचाको सत्तापक्षीय वा प्रतिपक्षीय अभ्यास गर्ने होइन, कोविड– १९ को सामना, सिमा रक्षा सहित राष्ट्रिय हितको प्रवर्धन, राष्ट्रिय हित अनुकूल सन्तुलित परराष्ट्र नीतिको अवलम्बन र संविधानले दिशा निर्देश गरेझैं विकास, समृद्धि सामाजिक न्याय र समाजवादको आधार निर्माण जस्ता बिषयहरुमा साझा दृष्टिकोण निर्माण गर्न र घनिष्ट सहकार्य गर्न जरुरी छ । यीनै अन्तरवस्तुहरुलाई समेटेर आएको नीति तथा कार्यक्रमलाई सहमतिका साथ पारित गर्न र देश तथा दुनियाका सामु अभूतपूर्व राष्ट्रिय एकता प्रर्दशित गर्न सबै राजनीतिक दल तथा सम्मानित सदनका सम्पूर्ण माननीय सदस्यहरुमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *