मन्त्रिपरिषद बैठक : लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।

आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पदमा अर्यालले प्रस्तुत गरेको नक्सा सोमबार अपराह्न बसेको बैठकले पारित गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकमा नेपालको नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी भएको थियो । नापी विभागले तयार पारेको नक्सालाई भूमि व्यवस्था मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रिपरिषद बैठकमा प्रस्तुत गरेकी हुन्।

नयाँ नक्सा प्रकाशन गर्न मन्त्री अर्यालले नापी विभागलाई निर्देश गरेकी थिइन् । उनकै निर्देशनमा लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ नक्सा तयार भएको थियो । तर नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक, कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताएका थिए ।

सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेको थियो ।

भारतसँग वार्ताबाट समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको र अब भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाललाई दबाब परेको मन्त्री अर्यालले बताएकी छन् ।

नेपालको हालसम्म प्रचलनमा रहेको नक्सामा लिम्पियाधुरा छैन । लिम्पियाधुरा नेपालको नक्सामा नरहेको भन्दै यसको विरोध भइरहेको थियो ।

नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा समेटिएको छैन । अब नेपाल सरकारले नयाँ नक्सा जारीपछि भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *