पक्राउपरेपछि उनले भने – बैंकको लोन तिर्न अवैध काम गरेँ, ऋण तिरिसकेपछि छोड्ने सोचमा थिए !

विराटनगर । अवैध मदिराको कारोबार गर्ने एक व्यापारीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा बखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश कार्की साथै वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमको टोलीले विशेष सुराकीको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई विराटनगर बसपार्क छेउमा रहेको मदिराको गोदाम प्रवेश गर्ने क्रममा रङ्गेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विराटनगर साविक ५ शान्ति चौकका २४ वर्षीय श्रवण मुखिया रहेका छन् ।

प्रहरीले उनको गोदामबाट गोल्डेन ओक, गोल्डेन ग्लोब, मास्टर सेलेक्शन, पास, फाईटर, रोयल टे«जर, पुर्वाञ्चल स्पेशल, नेट वर्क, हिमालयन ड्रागन, सिग्नेचर, रुसलान भोडका र ब्ल्याक ओक लगायतका १२ किसिमका मदिराहरु बरामद गरेको छ ।

साथै प्रारम्भिक अनुसन्धानको क्रममा अवैद्य मदिरा व्यापारी मुखियाको घर र गोदामबाट सयौँको संख्यामा खाली बोतल र अन्तःशुल्कको स्टीकर टाँसिएको बिर्कोसमेत फेला परेकोे वडा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

गौतमका अनुसार कम मुल्यका कमसल मदिराहरुमा केमिकल मिसाएर,  लेवल मिलाएर ब्राण्डेड मदिराको बोतलमा प्याक गरी बढी मुल्यमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।

सो क्रियाकलाप राजश्व चुहावटसँग सम्बन्धित विषय भएकाले राजश्व अनुसन्धान विभागको समन्वयमा थप अनुसन्धानको प्रक्रिया अघि बढाउने मोरङ्ग प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

बैंकको लोन तिर्न मैले अवैध काम गरे
थोरै मेहेनतमा धेरै पैसा कमाएर बैंकको लोन तिर्ने सपनासँगै अवैध धन्दा थालेका श्रवण मुखिया यस अघि हुलास फुडका कर्मचारी थिए । उनी ब्याचलर तहका विद्यार्थी हुन् । सानै उमेरमा आमाको उपचारको ऋणले काँध भारी भएको बताउने मुखियाका बुवा पनि क्यानसरका विरामी छन् ।

आमालाई उपचार गर्दा राष्ट्रिय बाणिज्य बैंकबाट लोन लिएको उनले बताए । आमालाई उपचारमा जति लगानी गरे पनि लगानी गरे अनुसार आमा निको भईनन् अर्थात आमाको ४ वर्ष अगाडी निधन भयो । आमाको निधन भएको केही समय पश्चात उनको बुवा क्यानसरका बिरामी भए बुवाको उपचारका लागि सोहि बैंकबाट पाँच लाख रुपैँया लोन लिएको उनले बताए ।

उनको पढाई एकातिर बुवा बिरामी भएसँगै पसल बन्द भयो, बैंकको लोन थेग्न नसकेर उनले आफुले गर्दै गरेको काम छोडेर अवैध रक्सिको धन्दा सुरु गरेको गल्ति उनले स्विकारे । उनले भने, ‘बैंकको ऋण तिर्नलाई एक वर्षदेखि अवैध काम गर्दै थिए, ऋण तिरिसके पछि यो काम छोड्ने सोंचमा थिए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *