मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘रामेछापको भूगोल, आर्थिक समृद्धिको आधार’

पूर्णबहादुर तामाङ (कान्छाराम)-
हामीले जान्दा मेरो बुवा शेरबहादुर तामाङ विभिन्न हाट बजारमा गएर सानोतिनो व्यापार–व्यवसाय चलाउनु हुन्थ्यो । त्यस बेला रामेछाप जिल्लामा सोतर्मुमा, साँगुटार, कटहरे, भोटनागी, खिमती, कोलडाँडा, घ्याङडाँडा, सावाडाँडा, नामाडी, गणेशस्थान, अलामपुर, रामेछाप (भँगेरी) मा हाट बजार लाग्थ्यो । ती हाटमा बुवाले लगेका सामान खुबै बिक्री हुन्थ्यो । बुवा गाउँलेले ल्याएका सामान किन्नु पनि हुन्थ्यो । हाट बजारबाट फर्केपछि बन्द व्यापार र सामाजिक कामका कुराहरू गाउँलेहरूलाई सुनाउनु हुन्थ्यो, दुई चार जना जमघट हुने ठाउँ हाम्रै घर हुन्थ्यो । दुई चार रुपैयाँ चलाउन, खेलाउन हामीलाई अप्ठ्यारो थिएन ।

अहिलेको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर १ चुचुरेमा हाम्रो घर छ । ५० वर्षअघि (२०२८ सालको जनगणना अनुसार) मेरो गाउँघर भएको चुचुरेमा १ हजार ८०६ जनसङ्ख्या थियो भने अहिले (२०६८) ३ हजार २११ पुगेको छ । बुवा शेरबहादुर तामाङ सामाजिक काममा खुवै चासो दिनु हुन्थ्यो । तर काममा कति लाग्न भ्याउनु हुन्थ्यो, त्यो बेग्लै कुरा हो । उहाँले घर व्यवहार गर्दा सुनेका कुराहरूले मलाई सानैदेखि व्यापार व्यवसाय र सामाजिक काममा प्रेरित गरायो । हामी पाँच दाजुभाइ सबै आफ्नो क्षेत्रमा स्थापित नै छौँ । दाइहरू तीन जना नेपाल आर्मी हुनुहुन्थ्यो । मैले गत निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेर चुनाव लड्ने अवसर पाएको थिएँ ।

थोरै मतअन्तरले चुनाव हारेँ । काँग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराई भन्नु हुन्थ्यो– चुनावमा हारजित हुन्छ, चुनाव हार्दैमा सिद्धान्त हारेको ठान्नु हुन्न । हुन पनि जीवनमा एक पटक मात्र चुनाव जित्नु भयो उहाँले । २०१५ सालको निर्वाचनमा गोरखाबाट चुनाव हार्दा पनि बिपी कोइरालाले उहाँलाई सभामुख बनाउनु भएको थियो । अर्थात् अपरिहार्य व्यक्तित्व थियो उहाँको । एक पटकको चुनाव हार्दैमा मेरो समाजसेवी भावना हारेका छैनन्, मैले त पिता शेरबहादुर तामाङबाट सिकेको संस्कार भनेकै मानवीय सेवा हो, सामाजिक काम हो ।

मैले जनसेवाकै लागि १३ वटा एम्बुलेन्स र एउटा शव वाहन दान गरेको छु, ती एम्बुलेन्सबाट रामेछापमा बिरामीले सेवा पाइरहेको सुन्न पाउँदा मलाई संसारको स्वर्गीय आनन्द प्राप्त हुन्छ । यो मेरो हृदयको कुरा हो । किन भने आफ्ना पिता–पुर्खा, वंशावलीको ज्ञान नराख्नेले भविष्य देखाउन सक्दैन भनेझैँ रामेछाप र आफ्नो गाउँ ठाउँको बारेमा जानकारी राख्नु हाम्रो पहिलो कर्तव्य हो ।

यति बेला हामी सबै लक डाउनका कारण घरमै छौँ । कोरोना भाइरसका कारण कुनै सवारी साधन चलेका छैनन्, मुलुकको अर्थतन्त्रमा ठुलै असर परेको छ । यसर्थ जिल्लालाई आत्मनिर्भर बनाउन विगतको इतिहास कोट्याउनै पर्ने हुन्छ । विगतको अनुभवसँग बर्तमानको तुलना गरी भविष्यको योजना तर्जुमा गरियो भने हाम्रो समृद्धि टाढा छैन । हरेक जिल्लाले आफैँ आत्मनिर्भर बन्ने योजना कार्यान्वयनमा ल्याउन सके भने मुलुक आत्मनिर्भर हुन्छ भन्ने कुरा हृदयमा राखी आजैबाट नयाँ ढङ्गबाट लाग्नु पर्छ भन्ने मलाई लाग्छ ।

त्यसैले आज मैले चर्चा गर्न खोजेको विषय रामेछापको विगत, वर्तमान र भविष्यको योजना सन्दर्भमा हो । आफूलाई लागेका केही विचारमाथि विवेचना गर्नमै यो लेख केन्द्रित गरेको छु । मैले सुने अनुसार रामेछापलाई उहिले दुई नम्बर गौँडाका नामले चिनाइन्थ्यो । दुई नम्बर गौँडा भनिए पनि रामेछाप डाँडालाई मात्र सङ्केत गर्थ्यो त्यो नामले । रामेछापको पूर्वमा ओखलढुङ्गा र सोलुखुम्बु, पश्चिममा काभ्रेपलान्चोक, उत्तरमा दोलखा, दक्षिणमा सिन्धुली जिल्ला पर्छ । १ हजार ५४४ वर्ग किलोमिटरमा फैलिएको रामेछापको (२०६८ सालको जनगणना अनुसार अहिलेको जनसङ्ख्या २ लाख २ हजार ६४६ छ ।

आजभन्दा करिब ५० वर्षअघि नै अर्थात् २०२८ सालमा १ लाख ५७ हजार ३४९ जनसङ्ख्या थियो । रामेछापको जनसङ्ख्या वृद्धि नहुनुमा भौगोलिक विकटता मात्र कारण छैन, रोजगारीको सम्भावनाको अभाव पनि हो । यहाँबाट बसाइँ सरेर तराईका जिल्ला गएका छन्, माओवादीकालमा केही मान्छे विस्थापित पनि भए । पहिले रामेछाप जिल्ला मध्यमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो, जहाँ १९ वटा जिल्ला समेटिएका थिए । अहिले बाग्मती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँसमेत १३ जिल्ला छन् । मध्यमाञ्चल विकास क्षेत्रका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला प्रदेश २ मा पारिएको छ ।

बाग्मती प्रदेशको २० हजार ३ सय वर्ग किलोमिटरमा करिब ५५ लाख २९ हजार ४५२ जनसङ्ख्या मिलेरै बसेका छन् । रामेछापलाई हिमाली, लेकाली, पहाडी र बेँसीका रूपमा वर्गीकरण गर्न सकिन्छ । जिल्लाको सुदूर उत्तरी सिरानचोक लेकभन्दा उत्तरतिरको ४ हजार ८४८ मिटर उचाईंभन्दा माथिको भागलाई हिमाली भेगमा राख्न सकिन्छ । त्योभन्दा अग्लो नुम्बुर हिमचुलीको उचाईं ६,९५८ मिटर छ भने ६,२५८ को रामादिंचुली, ५,५०२ मिटर उचाईंको गोकुलचुली, ६,७५७ मिटर अग्लो लिखुचुली, ६,६७८ मिटर अग्लो गाकोशिरजस्ता हिमालहरूको पूर्वाधार विकास गर्दै हामीले प्रचार गर्ने गरी योजना बनाउनु पर्छ । यी हिमालहरूलाई केन्द्रमा राखेर पर्यटनको आकर्षक ठाउँ बनाउने योजना पालिकाहरूले बनाउन सक्नु पर्छ । पाँच पोखरी, जटा पोखरी जिल्लाका प्रसिद्ध पोखरी हुन्, जहाँ मानव बस्ती छैन । नुम्बुर हिमचुली, रामादिंचुली, गोकुल चुली, लिखुचुली, गाकोशिर र सुर्मोचेजस्ता हिमाल हाम्रो रामेछापमै पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । हामीसँग बहुमूल्य कुरा छन् तर तीनको सदुपयोग कसरी गर्ने भन्ने विशेष योजना छैन ।

जिल्लालाई आत्मनिर्भर बनाउन विगतको इतिहास कोट्याउनै पर्ने हुन्छ । विगतको अनुभवसँग बर्तमानको तुलना गरी भविष्यको योजना तर्जुमा गरियो भने हाम्रो समृद्धि टाढा पनि छैन ।

३,११२ मिटरको ताँवेडाँडा, ४,२५५ मिटरको सिरान चोक लेक, पश्चिमतिरको ३,१३८ मिटरको सैलुङ लेक प्रसिद्ध छ । यिनलाई आधार बनाएर योजना ल्याउन सकियो भने आन्तरिक पर्यटक थेग्न हामीलाई हम्मे हम्मे पर्छ । पहाडी भेग र बेसीको आफ्नो छुट्टै महत्त्व छ । १२ सय मिटरभन्दा तलतिरको भू–भागमा तामाकोसी, सुनकोशी, लिखु खोला, खिमती खोला, चौँरी खोला किनारका फाँटहरू, साँगुटार, मन्थली फाँट, च्यारच्यारी आदि अनेकौँ धान खेती हुने टारहरु छन् ।

त्यस्तै जिल्लाको उत्तर–पूर्वी खाल्टेदेखि सिरान चोकसम्मको भागलाई अर्थात् २,७०० मिटरसम्मको भूभागलाई लेकाली भेग भन्न सकिन्छ । ३,११२ मिटरको ताँवेडाँडा, ४,२५५ मिटरको सिरान चोक लेक, पश्चिमतिरको ३,१३८ मिटरको सैलुङ लेक प्रसिद्ध छ । यिनलाई आधार बनाएर योजना ल्याउन सकियो भने आन्तरिक पर्यटक थेग्न हामीलाई हम्मे हम्मे पर्छ । पहाडी भेग र बेसीको आफ्नो छुट्टै महत्त्व छ । १२ सय मिटरभन्दा तलतिरको भू–भागमा तामाकोसी, सुनकोशी, लिखु खोला, खिमती खोला, चौँरी खोला किनारका फाँटहरू, साँगुटार, मन्थली फाँट, च्यारच्यारी आदि अनेकौँ धान खेती हुने टारहरु छन् । कृषिका लागि नयाँ प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउनु पर्छ ।

पहाडी भेग भन्नाले १२ सय मिटरसम्मको भूभाग हो । मलिलो, उब्जाउपूर्ण र खेती योग्य भएकाले बाक्ला गाउँहरू पहाडी भेगमा छन् । रुपकोट, आमचौर, चिसापानी, थाकलेकको हावापानी अति नै राम्रो छ । सुनकोशी, तामाकोशी, मिलती खोला, खिमती खोला, लिखु खोला, खानी खोला, चौँरी खोला रामेछापलाई परिचय गराउने नदीहरू हुन् । यी खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन । स्थानीय जनताको अधिकार सुरक्षित गर्ने गरी परिवर्तित सन्दर्भ अनुकूलका योजना ल्याउन आवश्यक छ । स्थानीय जनताले उत्पादित विद्युतबाट लाभ लिन सक्ने आधारको खोजी गर्दै निर्माणाधीन नयाँ योजनामा स्थानीयलाई शेयर वितरण गरिनु पर्छ भन्ने लाग्छ । किनभने स्थानीय जनता धनी नभई नेपाल धनी हुनै सक्दैन ।

रामेछापबाट ९० किलोमिटर टाढाको बाटो काठमाडौँ हिँड्दै जान कुनै बेला ४, ५ दिन लाग्थ्यो, अहिले तीन घण्टामा काठमाडौँ पुगिन्छ । यसलाई सुविधा मात्र नमानी आर्थिक उपार्जनको माध्यम बनाउन नगरपालिका र गाउँपालिकाहरूले योजना बनाउन सक्नु पर्छ । २०३०–३१ सालताका रामेछापको चिसापानीका तीन चार सय घरहरूमा खाँडीका कपडा बुनिन्थ्यो, आफूलाई पुगेर उब्रेको बजारमा लगेर बेच्ने चलन थियो । गुम्देल गाउँका शेर्पाहरू गलैँचा, राडी, पाखी, लुकुनी, कम्बल आदि बनाउँथे, अहिले त्यो चलन हराएको छ ।

उनीहरूमा व्यापार व्यवसाय गर्ने अभ्यास उतिबेलै थियो । ठोसे र साँगुटारको सानो बजारबाट मात्र ३ सय मेट्रिक टन सामान जिल्ला बाहिर जान्थ्यो । बाँकी भेरीका कुमालेहरू माटाका भाँडा बनाउनमा प्रसिद्ध थिए । ठोसेको फलाम खानी उति बेला प्रसिद्ध थियो तर धाउ पगाल्दा जङ्गल नास भएकाले बन्द गरियो । अहिले सम्भावना खोज्न सकिन्छ नि, हैन र ? खुर्कोट–रामेछाप–मन्थलीको बाटो भएर एक वर्षमा २ हजार २८० जना व्यापारी हिँड्थे भन्ने कुरा १९७१ मा प्रकाशित तामाकोशी–खिम्ति सडक आयोजनको प्रतिवेदनमा उल्लेख छ ।

करिब २६ हजार मान्छे त हाट बजारका लागि हिँड्थे । यो सडकमा वर्षभर ६२ हजार ५० जना मान्छे एकातर्फ मात्र हिँड्थे, अहिले सायद एक सातामा हिँड्छन् । हामीले पुरानो हाम्रो परम्परा खोजी गरी आधुनिक ढङ्गले काम गर्ने प्रयास गर्नुको अर्को विकल्प छैन । हामीले जनसङ्ख्या वृद्धिको आधारमा कम्तीमा ५० वर्षका लागि आत्मनिर्भरता सहितको व्यवहारिक योजना अगाडी सार्नु पर्छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेको भनेझैँ हुन्छ । राजनीति गर्नेहरूप्रति अनास्था पैदा हुन्छ । अन्ततः अनास्थाले व्यवस्थालाई नै चुनौती दिन्छ । यसर्थ रामेछापका दुई नगरपालिका र छ गाउँपालिकाले लोकतान्त्रिक व्यवस्थाको गरिमा बढ्ने गरी काम गरेर देखाउन सक्नु पर्छ ।

अन्तमा मैले भन्नै पर्छ– गत निर्वाचनमा रामेछाप जिल्लामाथि अन्याय भएको छ । जनसङ्ख्यालाई मात्र आधार बनाइँदा रामेछापमाथि अन्याय भएको हो । ४१३ वर्ग किलोमिटरमा फैलिएको ललितपुरमा ३ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । जबकि रामेछाप जिल्ला १,५४४ वर्ग किलोमिटरमा फैलिएको छ । जिल्लाका सबै वडा पुग्ने हो भने कम्तीमा २०,२५ दिन लाग्छ । रामेछापभन्दा कैयौँ गुना सानो भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र कायम छ । भक्तपुरको क्षेत्रफल ११९ वर्ग किलोमिटर छ । १.६ किलोमिटर पूर्व–पश्चिम र उत्तर–दक्षिण ११.२ किलोमिटर रहेको भक्तपुर जिल्ला एक दिनमा पुरै घुम्न सकिन्छ । रामेछापभन्दा एक सय वर्ग किलोमिटर सानो काभ्रेमा दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । यसर्थ यो विभेद सच्याइनु पर्छ ।
( तामाङ काँग्रेस महासमिति सदस्य तथा नेपाली काँग्रेसले हालै गठन गरेको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको सदस्य हुनुहुन्छ )

प्रतिकृयाहरु
Loading...