हामीले नक्सा बनायौँ, अब जमिन फिर्ता ल्याउन बाँकी छ : मन्त्री अर्याल

काठमाडौं । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नेपालको नयाँ नक्साबारे छलफलका क्रममा मन्त्री पद्मा कुमारी अर्यालले अब जमिन फिर्ता ल्याउन उच्च तहबाटै वार्ता गरेरै जाने बताएकी छन् ।

मन्त्री अर्यालले भनिन्। ‘हामीले नक्सा बनायौँ, अब जमिन फिर्ता ल्याउन बाँकी छ। उच्च तहबाटै वार्ता गरेर जाने भन्ने मनसायले नै हामी अगाडि बढेका हौं’

मन्त्री पद्मकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा सीमा नापनक्सांकन गर्ने प्राविधिक कार्यालय, नापी विभागका पूर्व महानिर्देशकहरुसँग आज मन्त्रालयमा छलफल गरेकी हुन् । उनले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै पक्षबाट एउटै आवाजका साथ नेपालको नयाँ नक्साबारे धारणाा अगाडि बढाउनुपर्ने बताएकी छन् ।

‘सरकारले स्वीकृत गरेको नक्सालाई एकमुष्ठ रुपमा एक आवाज लिएर अगाडि बढौं, यहाँहरुले सरकारलाई धेरै सहयोग गर्नुभएको छ, थप सहयोगका निम्ति आग्रह गर्दछौँ’मन्त्री अर्यालले भनिन् ।

छलफलमा विज्ञहरुले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा सिधै ल्याउने वातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने सुझाव दिएका थिए। उनीहरुले नेपालका तर्फबाट सबै सहयोगी दस्तावेजहरु संकलन गर्नुपर्ने र गलत दस्तावेजलाई स्किप गर्नुपर्ने बताएका छन् ।

यस्तै उनीहरुले लिम्पियाधुराको सीमानामा सरकारले सशस्त्र प्रहरी पोष्ट स्थापनाले मात्रै नपुग्ने हुँदा सीमानामा नेपाली सेना राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *