अम्पुन चक्रवातको प्रभाव नेपालमा, हावाहुरी, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल प्रवेश गरेको छ । दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको हो । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा पनि पर्ने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातले पूर्वी नेपालको मौसममा बदली गरिसकेको छ । अब चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ । भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्ने मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार चक्रवातका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ ।

पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ । त्यस पछिको दुई÷तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक÷दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ ।

चक्रवातको प्रभावले हुने वर्षा र हिमपातका कारण पूर्वी र मध्य नेपालका सानाखाले खोलाहरू र खहरेहरूमा पानीको मात्रा बढ्ने सम्भावना छ । ठूला नदीहरूमा भने जलस्तर बढे पनि खतराको तह पार गर्ने सम्भावना कम रहेको प्रक्षेपण गरिएको छ ।

चक्रवातका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा लगातार सिमसिम पानी पर्दै हावाहुरी लाग्ने सम्भावना पनि रहेको छ । त्यसले गर्दा कतिपय पूर्वाधारहरूमा क्षति पुर्‍याउनुका साथै रूखहरू लडाउनसक्ने मौसमविद् बताउँछन् ।

देशभर वर्षा र हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने छ भने पूर्व र मध्य क्षेत्रमा खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *