गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित, चन्द्रागिरिका ९ जनामा देखियो आरडिटी पोजेटिभ !

काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए ।

मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उनलाई सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा पहिलो पटक कोरोना सङ्क्रमण प्रमाणित भएको हो ।

नगर स्वास्थ्य समितिको आजै बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ ।

नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन् । नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन् ।

त्यस्तै चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणका क्रममा नौ व्यक्तिको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । ‘चन्द्रागिरी नपाका वडा नं १२ बलम्बु, वडा नं १३ पुरानो नैकाप र वडा नं १४ नयाँ नैकापमा गरिएको ११३ जनाको परीक्षणमा नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो’, उनले भने ।

आरडिटी रिपोर्ट पोजेटिभ देखिएका नौ व्यक्तिको पिसीआर परीक्षण गर्न लागिएको चन्द्रागिरि नपाले जनाएको छ । आरडिटी पोजेटिभ देखिएसँगै चन्द्रागिरि नपाले क्वारेन्टिनको क्षमतालाई समेत विस्तार गरेको छ । नगर प्रवक्ता महर्जनले थानकोट प्राथमिक अस्पताल र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टिन विस्तार गर्न लागिएको जानकारी दिए ।

चन्द्रागिरिले आजदेखि १०० श्ययाको क्वारेन्टिन थप गरेको छ । कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिलाई क्वारेन्टिन र गम्भीर बिरामीलाई आइसोलेसनमा राख्नका लागि क्वारेन्टिन विस्तार गर्न लागेको हो ।

केही दिनअघिमात्र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि चन्द्रागिरि नपाले नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई प्राथमिकता दिँदै आएको छ । चन्द्रागिरिले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि प्रवेश गरेका व्यक्तिको लगत सङ्कलन गरी कोरोना परीक्षणलाई तीव्रता दिएको नगरप्रमुख घनश्याम गिरीले बताए ।

चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परीक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नपाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ । पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चन्द्रागिरीले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रूपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *