नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिँदै
काठमाडौँ । आज (बुधबार) दिउँसो औपचारिक रुपमा नेपालको नयाँ राजनैतिक नक्सा सार्वजनिक गरिने भएको छ ।
दिउँसो २ः१५ बजे कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । नक्सा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनमार्फत हुनेछ ।
मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको भूमिमन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनीतिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ ।