सिँचाइ क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिइन्छः मन्त्री फुयाँल

काठमाडौं। वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उत्पादन बढाउन मन्त्रालयले सिँचाइ क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन्।

प्रदेशका १३ वटै जलस्रोत तथा सिँचाइ विकास डिभिजन, दुई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन र नारायणी–खगेरी सिँचाइ व्यवस्थापन प्रणालीका प्रमुख तथा प्रतिनिधिसँगको बैठकमा मन्त्री फुयाँलले कोरोनाका कारण विश्वभर आर्थिक संकट उत्पन्न हुन सक्ने भन्दै सरकारले सिँचाइको पूर्वाधार विकासको कामलाई द्रुत गर्नुपर्ने बताए।

उनले लकडाउनका कारण सिर्जित समस्या समाधानमा सरकार तयार रहेकाले काम धमाधम गर्न निर्देशन दिए। कोरोनाका वाबजुद पनि काम गर्न सक्छौँ भन्ने उदाहरण दिन आवश्यक रहेको बताउँदै मन्त्री फुयाँलले नयाँ योजना निर्माणमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे। उनले कसैको स्वार्थमा योजना बनाइनु हुन्न भन्दै वास्तविकता हेरेर आवश्यकीय योजना छनोट गरिने बताए।

भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा जलस्रोत तथा ऊर्जा विकास महाशाखाका निर्देशक मेघराज अवस्थीले महाशाखाको समग्र प्रगति ७० प्रतिशत पुगेको बताए। उनले लकडाउनका कारण समस्या भएको भए पनि वित्तीय तथा भौतिक प्रगति राम्रो रहेको उल्लेख गरे। निर्देशक अवस्थीले सिँचाइको काम बढाउनुपर्ने हुँदा यो वर्ष बजेटसमेत बढाउनुपर्ने उनको भनाइ थियो।

बैठकमा सहभागी डिभिजन प्रमुख तथा प्रतिनिधिले कामलाई निरन्तरता दिइनै रहेको भए पनि लकडाउनका कारण निर्माण सामग्रीको ओसारपसारमा देखिएको समस्या, मजदुर तथा दक्ष जनशक्तिको अभावलगायत समस्याको समाधान गरिनुपर्ने धारणा राखेका थिए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *