कोशी अस्पतालबाट थप ८ कोरोना संक्रमित डिस्चार्ज
मोरङ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट ८ जना कोरोना संक्रमित आज (बुधबार) डिस्चार्ज भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् । उदयपुरका ४६ वर्षीय मोहमद इद्रिस, २८ वर्षीय मोहमद साविर, ४० वर्षीय मोहमद सनौला र भारतीय नागरिकहरु मोहमद साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम डिस्चार्ज भएकाे अस्पतालले जनाएकाे छ ।
भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती ५ जना भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए ।
कोरोना निको भएपछि उनीहरूलाई पुष्पगुच्छा दिएर बिदाइ गरिएको छ । आज ८ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत छन् ।