‘बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु नेकपाको जिम्मेवारी’
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तनका क्रममा बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीको जिम्मेवारी भएको बताएका छन्।
बेपत्ता योद्धाको स्मृति दिवसको सन्द्रभमा आज एक वक्तव्य जारी गर्दै उनले बेपत्ता योद्धाको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता दोहोर्याए।
अध्यक्ष दाहालले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाको संघर्षका कारण नै आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरण पुगेको बताए।
बेपत्ता परिवारको अभिभावकत्व र उनीहरु सन्नतिको शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले बेपत्ता योद्धाप्रति उच्च सम्मान व्यक्त गरे। -रासस