कोरोना परीक्षणको दर तोकिएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरू मार्फत पीसीआर विधिबाट सशुल्क कोरोना परीक्षण खुला गर्ने निर्णय भए पनि त्यसको दर तोकी नसकिएको जनाएको छ। मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी छ।’
परीक्षणको दायरालाई व्यापक बनाउन विदेशी कूटनीतिज्ञहरू र स्वदेशी नागरिकसमेतको आग्रहमा परीक्षण गर्न दिने भनी निर्णय भएको तर शुल्क नतोकिएको मन्त्रालयले जनाएको छ। सार्वजनिक अस्पतालमा लामबद्ध भई समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने नागरिकहरूको अनुरोधमा मन्त्रालयले सशुल्क परीक्षणको व्यवस्था गर्न लागेको हो।
तर कसैले स्वेच्छाले पीसीआर विधिबाट कोरोना परीक्षण गर्न चाहेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने सर्त राखिएको मन्त्रालयले जनाएको छ। स्वेच्छाले पीसीआर परीक्षण गराउन चाहे पनि तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गर्नुपर्ने मन्त्रालयद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ।
‘यस प्रकारको परीक्षणको लागि मन्त्रालयले दररेट तोकिदिने भएता पनि हालसम्म कुनै दररेट तोकी नसकेको व्यवहोरो सर्वसाधारणमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले उक्त सूचनालाई केही तोडमोड गरी निजी संस्थाबाट परीक्षण गराउन पन्ध्र हजार रेट तोकिएको समाचार प्रकाशित भएकोप्रति भने ध्यानाकर्षण भएको जनाएको छ।