धरानका नगर प्रमुखको दादागिरीः भत्काइयो शहीद स्कुलको पर्खाल !

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । नगर प्रमुख तिलक राईको निर्देशनमा धरान–८ स्थित शहीद स्मृति माविको पर्खाल भत्काइएको छ । साे स्कुलकाे बाल कक्षासँग जोडिएकाे पर्खाल ६ फिटको बन्ने बाटोका लागि उनले भत्काउन निर्देशन दिएपछि विवाद सुरु भएको स्थानीयले बताएका छन् ।

धरान उपमहानगरपालिकाले आफूहरूलाई भत्काउनका लागि लिखित अनुमति प्रदान गरिसकेको भन्दै उपभोक्ताहरूले सो विद्यालयलाई जानकारी समेत नगराई पर्खाल भत्काउन थालेपछि आज (बिहिबार) बिहान विद्यालय परिसरमा विवाद उत्पन्न भयाे ।

विद्यालयको पर्खाल भत्काउने विषयमा कुनै पनि किसिमको लिखित पत्र तथा औपचारिक जानकारी समेत नभएको विद्यालयका प्रधानाध्यापक राम विष्टले मकालु खबरलाई जानकारी दिए । दर्जनाैं स्थानीयको संख्यामा बिहान एक्कासी पूर्व दक्षिणतर्फको पर्खाल भत्काउन थालेपछि मात्रै आफुलाई थाहा भएको र त्यतिबेलासम्म पर्खालमा लगाईएको फलामको रड तथा आधा पर्खालहरु भत्काइसकेको प्रधानाध्यापक विष्टले बताए ।

सो सडकको विषयमा निकै लामो समय अघिदेखि नै बादबिबाद चलिरहेको स्थानीय जगत बहादुरले जानकारी दिए ।आफूहरुसँग विगतमा ५ लाख राख्ने भन्ने विषयमा सम्झौता समेत भएको र त्यो सम्झौता अनुसार आफूहरुले ५ लाख रुपैयाँ समेत राखिसकेको उनले बताए ।

५० सालदेखि आफूहरु विद्यालय समय बाहेकका समयमा सोही स्थानबाट हिँड्ने गरेको र अहिले विद्यालयले पुरै विद्यालयमा गेट लगाएपछि बाटो नै बन्द भएको एक स्थानीयले गुनासो गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व मेयर मनोज कुमार मेन्याङवोले केही समयअघि आफूहरुसँग भएको सहमति अनुसार स्कुलले साढे ७ फिट र उपभोक्ताले ७ फिट छाड्ने तर, हाल सञ्चालन भइरहेको बाल कक्षाको भवनहरू उपयुक्त विकल्प नभएसम्म नभत्काउने सहमति भएपनि अहिले जबरजस्ती स्कुलकाे पर्खाल भत्काइएको दाबी गरे ।

‘कसैले कसैलाई सार्वजनिक सम्पत्ति भत्काउ भन्दैमा भत्काउन कतिसम्मको मिल्छ ?’ मेन्याङवाेले प्रश्न गरे । ‘यो कसको निर्देशनमा गरिएको हो ? यस्तो अपराधको जिम्मेवार उनीहरु स्वयम् हुनुपर्छ’, उनले भने ।

विवाद समाधानका लागि बसेको बैठकमा उनले उपभोक्ताले ७ फिट छाड्ने र स्कुलले पनि साँढे ७ फिट छाड्ने भन्ने सहमति भएको, ५ लाख उपभोक्ताले र ५ लाख स्कुलले दिने पनि सहमति जनाए । ‘त्यो बेला टहरो भत्काउँदा विकल्प दिएर भत्काउने भन्ने कुरा भएको होइन ? अहिले के आधारमा धरानका मेयर तिलक राईको ठाडो आदेशमा भत्काउनु भएको छ ?’ मेन्याङवोले भने ।

पूर्व मेयर मेन्याङवोले विवाद मिलाउन बसेको बैठकमा मेयरलाई फोनमार्फत् नै ‘तपाईँको दादागिरी हो’ भन्दै छलफलमा आउन भन्दा पनि नआएको बताए ।

स्थानीय चुनाव आउनुभन्दा अगाडी नै धरानका कार्यवाहक मेयर तथा उपमेयर मन्जु भण्डारीले सो विद्यालयसँग जोडिएको बाटो खोल्न भनेर १० लाख दिने सम्झौता गरेपनि सो सम्झौतालाई अहिलेका मेयरले विफल बनाउन राजनीति गरेको पनि उनको आरोप छ ।

उपभोक्ता समिति मध्येकै स्थानीय समेत रहेका जुद्ध लोहनीले हिजो कांग्रेस, एमाले, माओवादी सबैले सहमति गरेर गएको र सोही सहमतिलाई सम्बोधन हुने गरी सहमति गरेर जानुपर्ने  बताए ।उता स्थानीय उपभोक्ताहरू भने सडकका लागि स्कुलले जग्गा छाड्नुपर्ने अडान कस्दै आइरहेका छन् । स्कुलले पनि विकल्प दिएर मात्रै भत्काउने अडान लिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले २०७७ जेठ ७ गतेबाट निर्माण कार्य सुरु गर्न निर्देशन दिइएको देखिन्छ । उपभोक्ता समितिलाई जेठ ६ गतेको बैठकले यस्तो निर्देशन दिएको पाइएकाे छ ।

निर्देशन पत्रमा शहीद स्मृति मार्ग सडक तथा ढल निर्माण समितिका अध्यक्ष आईतराज लिम्बूको अध्यक्षतामा बसेको बैठकले  स्कूललाई मंगलबार (जेठ ६ गते) सडक तथा ढल बनाउने विषयमा जानकारी गराएको छ । धरान ८ सहिद मार्गमा ६ फिट बाटो छोडदै बि.सं. ५० सालमा नै बस्ती बनाएर घरहरु बसालेको स्थानीयले जगत बहादुरको भनाइ छ ।

विवाद भइरहेकै बेला नै स्थानीय युवाहरुले धरानका मेयरसँग बाटोको बिषयमा कुराकानी गरे पनि जबरजस्ती रुपमा विद्यालयका प्रधानाध्यापकले अटेरी गरी विद्यालय छेउ दक्षिण पट्टीको बाटो बनाउनका लागि कुनै पहल नगरेको र उल्टै  विरोधमा उत्रिएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *