गरिब मुलुकमा कोरोना संक्रमणको प्रसार तीव्रः डब्लुएचओ

जेनेभा। भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बताएको छ। पछिल्लो २४ घण्टामा मात्र संसारभर एक लाख ६ हजार कोरोनाका नयाँ बिरामी फेला परेका उसले जनाएको छ। दैनिक सङ्क्रमणका हिसाबले यो सङ्ख्या हालसम्मकै उच्च भएको डब्लूएचओको भनाइ छ।

‘पछिल्लो २४ घण्टामा मात्रै डब्लुएचओलाई १ लाख ६ हजार नयाँ सङ्क्रमित रिपोर्ट गरिएको छ। यो महामारी सुरु देखिको दैनिकी रेकर्ड अनुसार एकै दिनमा सबैभन्दा धेरै पुष्टि भएको सङ्ख्या हो,’ डब्लूएचओका महानिर्देशक टेड्रोस अदानम गेब्रियससले भने, ‘यी मध्य झन्डै दुई तिहाइ सङ्क्रमित केसहरू चार देशका हुन्।’

कम र मध्यम आय भएका राष्ट्रहरूमा सङ्क्रमण बढ्दो अवस्थामा रहेको उनले बताए। उनले का बारेमा भएको सम्मेलनमा यस किसिमको चेतावनी दिएका हुन्। महानिर्देशक टेड्रोसले भनेका छन्, ‘एकातिर धनी मुलुकहरू लकडाउनबाट बाहिर निस्किन प्रयत्नरत छन्, अर्कोतिर गरिब मुलुकमा भाइरसको प्रसार तीव्र छ।’

सङ्क्रमण बढ्दो अवस्थामा रहेका देशहरूले लकडाउनका प्रतिबन्धहरू हटाउन थालेपछि डब्लुएचओले चिन्ता व्यक्त गरेको छ। उनले यो महामारी अझै लामो समय रहिरहने बताए। दुई साता अघि संसारभर सङ्क्रमित सङ्ख्या जम्मा ४० लाखको हाराहारीमा थियो भने पछिल्लो दुई सातामै यो सङ्ख्या ५० लाख नाघिसकेको छ।

तर विज्ञहरूका यो तथ्यांक सही नहुन सक्ने जनाएका छन्। विश्वका धेरै देशहरूमा परीक्षण दर निकै कम भएकाले सङ्क्रमित सङ्ख्या अझ बढी हुन सक्छ उनीहरूको बुझाइ छ। जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३ लाख २६ हजार भन्दा बढी मानिसहरू सङ्क्रमणका कारण मरेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको पहिलो नम्बरमा अमेरिका छ। यहाँ १५ लाख जनामा सङ्क्रमण पुष्टि भएको छ भने ९२ हजार बढीले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *