मनिषाकाे समर्थन गर्दै भारतीय मिडियालाई विप्लव समूहले दियाे यस्ताे चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघले भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

कालापानीको विषयमा मनिषा कोइरालाले नेपाललाई समर्थन गरेसँगै भारतीय मिडियाले उनको खेदो खनिरहेका बेला जनसांस्कृतिक महासंघले प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । महासंघले विज्ञप्तिमा भनेकाे छ, ‘मनिषा कोइरालाको अभिव्यक्तिमाथि प्रहार हुनु सांस्कृतिक अतिक्रमणकै नयाँ शृङ्खलाको रूपमा हाम्रो सङ्गठनले लिएको छ। भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पुर्याउने सम्पूर्ण हर्कत बन्द नगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ।’

भारतीय मिडियाले कोइरालाले भारतीय नुन खाएर चीनको गीत गाएको आरोप लगाउन थालेसँगै महासंघले मनिषा कसैको दयाले नभई आफ्नो श्रम र सीपले अगाडि बढेको बताएको छ । ‘नेपाली छोरीले नेपालको माया गर्न नपाउने ? श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ। हामी नेपालकी नायिका मनिषा कोइरालामा जीवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ’, महासंघले वक्तव्य जारी गर्दै भनेकाे  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *