अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गरिने

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र गरेको छ ।

उक्त निर्णयको बुदा नं २ मा उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने उल्लेख छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगर तथा महानगरपालिकाका प्रमुखलगायत सुरक्षा अधिकारीबीच बैठक बसी कोभिड–१९ को सङ्क्रमण र रोकथामको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा उपत्यकाको नाका जोडिएका नगरपालिका प्रमुखको समेत सहभागिता थियो ।

बैठकले बन्दाबन्दी (लकडाउन) प्रभावकारी भए पनि विभिन्न बहाना बनाएर आवागमन हुने गरेकाले पूर्णरुपमा पालना हुन नसकेको निष्कर्ष निकालेको जनाइएको छ । तसर्थ लकडाउनलाई अझै कडाइ गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

यसअघि गरेको निर्णय कार्यान्वयन गर्दै उपत्यकामा हुने आवागमनमा थप कडाइ गर्ने र अत्यावश्यक बाहेकको आवतजावतलाई पूर्ण रोक्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले जानकारी दिए । अब भने उपत्यकाको स्थानीय तह, प्रहरी र प्रशासनको समन्वयमा थप कडाइ गरिनेछ ।

उनका अनुसार एउटै गाडीमा कामै नपरेका मानिससमेत आउने तथा लुकीलुकीसमेत प्रवेश गर्ने अवस्था भएकाले त्यसलाई रोक्न उक्त निर्णय गरी परिपत्र जारी गरिएको हो ।

उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्ने भएकाले आवश्यक सुरक्षा व्यवस्था कडा पार्न प्रहरीलाई समेत निर्देशन दिएको छ ।
मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन प्राप्त भएकाले सोहीअनुसार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

नाका प्रवेश रोक्न स्थानीय तहलाई प्रशासनसँग समन्वय गरी आ–आफ्नै क्षेत्रमा रहेको होटल, पार्टी प्यालेस, सामुदायिक भवनमा क्वारेन्टाइन बनाउन भनिएको छ । स्थानीय तहमार्फत आगन्तुकको लगत सङ्कलन र अन्य व्यवस्थापन गर्ने निणय पनि बैठकले गरेको छ । उक्त क्वारेन्टाइन खर्च भने बस्ने व्यक्ति स्वयंले भुक्तानी गर्नुपर्ने छ ।

आवश्यक कामका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सो को रिपोर्ट साथ उपत्यका प्रवेशका लागि अनुमति माग्नु पर्नेछ ।
उपत्यका आउने सवारीलाई प्रवेश विन्दुमा पुग्नुअगावै प्रस्थान विन्दुमा नै रोक्ने र यसका लागि सुरक्षा निकायलाई विशेष निगरानी गरी आवागमनमा कडाइ गर्न भनिएको छ । काठमाडौँ उपत्यकामा समेत कोभिड–१९ को सङ्क्रमण देखिँदै आएको छ । अहिले विभिन्न क्षेत्र सिल गरेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयबाट आएको परिपत्रअनुसार उपत्यकाको सुरक्षा व्यवस्था र लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन थप सक्रिय भएर लागिसकेको बताए ।

लुकीछिपी प्रवेश गर्नेको लगत लिइने

काठमाडौँ उपत्यकाका स्थानीय तहले प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने भएको छ । त्यस विषयमा आवश्यक कारवाही अघि बढाउने कुरा पनि गृहको परिपत्रमा उल्लेख छ ।

स्थानीय संस्था तथा क्लबले राहत वितरण र खाना वितरण गर्दा भीडभाड बढ्न गई जोखिम बढाएकाले उक्त कार्य स्थानीय तहको समन्वय नभएमा रोक्न पनि भनिएको छ । त्यस्तो कार्य समन्वय गरेर स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा मात्रै वितरण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणबाट मुलुकमा ४४४ व्यक्ति सङ्क्रमित भएका छन् । तिन जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *