छोराहरूको ‘कमाइ’ माग्दा बाबुको हत्या ! आरोपित सार्वजनिक

  • सुजता निङ्लेकु

विराटनगर । बाबुको हत्या आरोपमा पक्राउ परेका मुन्ना भनिने रोहित (जेठा छोरा) र नागेन्द्र चौहान (माइला छोरा) लाई प्रहरीले आज (बिहीबार) सार्वजनिक गरेको छ ।

विराटनगर– १४ झटियारिस्थित ६९ वर्षिय सत्यराम भनिने सिताराम चौहानको आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार साँझ शव फेला परेको थियो । उनको हत्यामा दुई छोराको संलग्नता रहेको अनुसन्धानमा पुष्टि भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

दुवै छोराले गत शनिबार मदिरा सेवन गरि बावुको हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । एसपी अधिकारीको अनुसार बावुको हत्यामा कोदालो प्रयोग गरिएको खुलेको छ ।

पक्राउ परेका छोराहरुले शनिबार हत्या गरेपछि आइतबार मात्र घरभित्र चार फिट गहिरो खाडल खनेर शवलाई गाडेको एसपी अधिकारीले बताए । बाबुको हत्या गरेपछि दुवै छोरा त्यसदिन घरभित्र सँगै सुतेका थिए ।

हत्या गर्ने योजना नबनाएको भएपनि मदिराको नशामा लठ्ठिएपछि आबेगमा आएर उनीहरुले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी अधिकारीकाे भनाइ छ । छोराहरूले काम गरेको पैसा बावुले मागेपछि झगडा हुँदा उनीहरुले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

बाबुसँग जेठा छोरा मुन्ना भनिने रोहित चौहान बस्दै आएका थिए भने माइला छोरा विराटनगर १५ भट्टीमोडमा बस्दै आएका छन् । कान्छा छोरा ५ वर्षदेखि सम्पर्कविहिन छन् । भट्टीमोडस्थित माइला छोरा नागेन्द्रकोमा सत्यराम प्राय जसो जाने गरेका थिए । ४/५ दिनदेखि ससुरा बा माइला छोराकोमा नआएपछि बुहारी सत्यरामकोे घरमा बुधबार पुगेकी थिइन् । घरको ढोका खुल्ला भएर कोठा पूरै दुर्गन्ध फैलिएकाे र रगत लतपतिएकाे टिसर्ट देखेपछि उनी इलाका प्रहरी कार्यालय रानी विराटनगरमा पुगेकी थिइन् ।

मोरङ प्रहरी र इप्रका रानीको प्रहरी टोली सत्यरामको घरमा पुग्दा करिब चार फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा शव प्रहरीले बरामद गरेको थियो । दुवै छोरालाई बुधबार साँझ नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *