११ घण्टा बितिसक्दा पनि उठेन शव, अस्पतालको लापरबाही भन्दै क्षतिपूर्ती माग

काठमाडौं । बिहीबार क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव उठेको छैन । मृत्य भएको ११ घण्टा बितिसक्दा पनि शव नउठ्दा त्यहाँबाट कोरोनाको जोखिम बढ्नसक्ने संकेत पनि देखिएको छ ।

मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएका ४१ वर्षीय कोरोना संक्रमित पुरुषका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ति नदिँदासम्म शव नउठाउने बताएका छन्। आफन्तले भने अस्पताललाई बिरामीको उपचार राम्रोसँग नगरिदिएकोले मृत्यु भएको आरोप लगाएका छन् ।

जेठ १ गते जन्डिस, ज्वरो र रुघाखोकी देखिएपछि गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहबाट उपचारको लागि उनी अस्पताल गएका थिए। उनी सुरुमा गुल्मीको स्थानीय मेडिकल हल, स्वास्थ्य चौकी हुँदै, अर्घाखाँचीको सन्धिखर्कस्थित छाँया पोलिक्लिनिक  सम्म पनि पुगेका थिए त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई क्रिमसन अस्पताल लगिएको थियो । क्रिमसन अस्पतालको आइसियुमा भर्ना गरिएका उनलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

आफूहरूकै पहलमा जेठ २ गते कोरोना परीक्षणका लागि स्वाब पठाएकोमा ५ गते त्यसको रिपोर्ट पोजेटिभ आएपछि भने अस्पतालले कुनै पनि उपचार नगरेको आफन्तको दाबी छ। कोरोना पोजेटिभ देखिएपछि आइसियूमा नर्स र डाक्टरसमेत नगएको आफन्तको भनाइ छ। अस्पतालको लापरबाहीबाट नै संक्रमितको मृत्यु भएको आफन्तको दाबी छ ।

संक्रमितका भाइले कोरोना संक्रमण भएको भन्नेमा पनि आशंका व्यक्त गरेका छन्। गाउँमा कसैलाई नदेखिएको र दाइ कतै नगएकोले कसरी कोरोना संक्रमण देखियो भन्नेमा शंका लागेको मृतकका भाइको भनाइ छ । उनले भने, ‘गाउँमा अहिलेसम्म कसैलाई पनि कोरोना देखिएको छैन, दाइ कतै जानुभएको छैन, उहाँलाई कसरी कोरोना संक्रमण देखियो ? हामीलाई विश्वास लागेको छैन ।’ मृतक पुरुषको उपचारमा संलग्न अर्घाखाँचीको छाँया पोलिक्लिनिकका सञ्चालक, चिकित्सक र उनलाई सन्धिखर्कदेखि अस्पतालसम्म ल्याउने एम्बुलेन्स चालकको कोरोना रिपोर्टसमेत नेगेटिभ आएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शव उठाउने विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तसँग छलफल भइरहेको जानकारी दिएका छन् । उनले भने ‘हामी अस्पताल प्रशासन र मृतकका आफन्तसँग छलफल गरिरहेका छौं, शव उठाइने छ ।’

मृतकका आफन्तले झुठो आरोप लगाएको क्रिमसन अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले बताएका छन्। उनले कोरोना संक्रमित बिरामीको उपचारमा कुनै कमी कमजोरी हुन नदिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *