इटा उद्योग बन्द हुँदा मजदुर मारमा, स्वदेश फर्काइदिन आग्रह

  • सुजता निङ्लेकु

विराटनगर । कोरोना भाईरस संक्रमण न्यूनीकरणका लागि सरकारले गत चैत्र ११ गते जारी गरेको लकडाउनसँगै उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प छन् । लकडाउनका कारण मोरङ्ग सुनसरी कोरिडोरका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु विषेश दैनिक ज्यालादारीमा इटाभट्टामा काम गर्ने श्रमिकहरु मारमा परेका हुन् ।प्रदेश नम्बर १ मा मोरङ्ग सुनसरी कोरिडोर अन्तर्गत सञ्चालन भएका करिब ६ सय उद्योगहरुमा काम गर्ने ६० हजारबढी कामदारहरु प्रत्यक्ष प्रभावित भएका छन् । भने झापा, मोरङ्ग, सुनसरी र सप्तरी सञ्चालन भएका १ सय बढी इटाभट्टाहरुमा करिब २० हजार बढी नेपाली तथा भारतीय कामदारहरु रहेका छन् । लकडाउनको ५८ दिनमा हाल औद्योगिक क्षेत्रमा कार्यरत १ चौथाई कामदारहरु रोजगार विहिन भएका छन् ।रोजगारीका लागि छिमेकी मुलुक भारत र नेपालका विभिन्न जिल्लाबाट इटा उद्योगमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण उद्योगमा नै खालि हात दिन बिताउन बाध्य भएका छन् । सम्बन्धित उद्योगमा आश्रित भएका श्रमिकहरुलाई भने उद्योगीहरुले आफ्नै पहलमा खान र बस्ने व्यवस्था मिलाईदिएका छन् । भारतीय कामदारसँगै नेपाली कामदारहरु पनि आफ्नो घर फर्कन पाएका छैनन् ।स्वदेश फर्कने चाहाना
मोरङको कटहरी-२ स्थित आरती इटा ट्रायल उद्योग प्रा.लि मा कार्यरत मजदुरहरुको समस्या उस्तै छ । लकडाउनको कारण काम ठप्प छ । उनीहरु काम नभएर खाली हात बस्न बाध्य बनेका छन् ।

भारतबाट नेपाल रोजगारीका लागि आएका २२ बर्षीय समयुल मियाँ ७ वर्षदेखि आरती इटा ट्रायल उद्योगमा काम गर्दै आईरहेको बताउँछन् । सरकारले जारी गरेको लकडाउनसँगै उनको इटा बनाउने काममा पनि लक लाग्यो । आफुले कमाएको पैसाले जसोतसो घर खर्च चलाए, जब पैसा सकियो दैनिकी चलाउन कष्ट परेको उनी सुनाउँछन् ।भारतको पश्चिम बङ्गाल निवासी मियाँ आफ्नो श्रीमती, बुवा, भाई र एउटी छोरीका साथ उद्योगमा नै दिन बिताईरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका उनको दिनचर्या हाल असहज बन्दै गएको छ । भने उनी जसरी भए पनि आफ्नै स्वदेश फर्कन चाहान्छन् । उनको जस्तै सोहि उद्योगमा कार्यरत २५ वर्षीय मोमिनुर मियाँको पनि कथा उस्तै छ । लकडाउन जारी भएसँगै उनको पनि काम बन्द हुँदा कामविहिन भएका छन् ।
लकडाउन सुरु भएदेखि अर्थात २ महिनादेखि इटाभट्टामा दैनिक हुने काम बन्द छ । उनको पनि दैनिकी कष्टकर बन्दै गइरहेको उनले बताए । उनको पनि आफ्नै देश फर्कन चाहना छ । समयुल र मोमिनुरको जस्तै सोहि इटा उद्योगमा काम गर्दै आईरहेका अन्य २ सय ४३ जना कामदारहरुको कथा पनि उस्तै छ ।

व्यवस्थापनका लागी आवश्यक पहल
लकडाउनका कारण काम ठप्प छ । दैनिक एक देखि डेढ लाख इटा उत्पादन हुने पछिल्लो समय शून्य नै रहेको भने कामदारहरु खाली हात बस्न बाध्य बनेका छन् ।

उनीहरुको व्यवस्थापनका लागी आवश्यक पहल भईरहेको इटा उद्योगका व्यवस्थापक यम कुमार श्रेष्ठले जानकारी दिए । उनको अनुसार मजदुरहरुको व्यावस्थापनका लागी प्रदेश सरकार देखि संघीय सरकार हुँदै भारतीय राजदुतावससम्म प्रयास जारी रहेको छ ।लकडाउनका कारण मजदुरहरुमा भोकमरीको अवस्था सिर्जना हुन नदिन सरकार वैकल्पिक रुपमा अगाडी बढनुपर्ने उद्योग सङगठन मोरङ्गका अध्यक्ष भीम घिमिरेले बताए । उनले विभिन्न उद्योगद्यन्दा तथा कलकारखानाहरुमा कार्यरत मजदुरहरुलाई पनि मितव्ययी भएर कम खर्चमा जिविकोपार्जन गर्न आग्रह गरे ।

आ-आफ्नो स्वदेश फर्कन चाहने भारतीय कामदारहरुका लागी तीनै तहबिचको समन्वयकारी भुमिकाको आधारमा निकास दिने आश्वासन प्राप्त भएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *