कन्ट्याक्ट ट्रेसिङमा समस्या, उपत्यकामा कोरोना जोखिम बढ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन् । यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन् ।

उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ । को व्यक्तिबाट काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न नै कठिन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का उच्च अधिकारीले बताए । १ जेठदेखि नै उपत्यकामा बस्नेमा संक्रमण बढी देखा पर्न थालेको हो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा समस्या हुँदा कोरोनाको जोखिम झनै बढेको छ ।

ठेगाना बाहिर, बस्ने उपत्यका
६ जेठमा स्वास्थ्य मन्त्रालयले ललितपुर ठेगाना दिएर एकजनालाई संक्रमण भएको अपुरो जानकारी दियो । ती व्यक्ति स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए। उनको घर उपत्यका बाहिर भए पनि मन्त्रालयले ललितपुर ठेगाना भएको बतायो । उनको स्थायी ठेगाना पहाडी जिल्ला हो ।

६ जेठमा नयाँ संक्रमित थपिएको जानकारी दिँदै लमजुङ ठेगाना भएका व्यक्ति उल्लेख गरियो । उनी पनि काठमाडौंमा बस्दै आएको पाइएको छ । १ जेठमा संक्रमित भएको पुष्टि भएका दुई बालबालिका पनि उपत्यकाबाहिर घर भए पनि काठमाडौं आएको बेला पुष्टि भएको छ ।

यसअघि ३१ वैशाखमा संक्रमितको रूपमा मन्त्रालयले सुनसरी ठेगाना बताएको महिला भक्तपुरमा डेरा लिएर बसेको पाइएको छ । ३१ वैशाखमा नै काठमाडौं बाहिर भनिएका पुरुष पनि भक्तपुर, दुवाकोटमा बस्ने गरेको पाइएको समाचार अन्नपूर्णमा छ । वैशाख ३० गते घाँटीको समस्या लिएर आएकी एक बालिका पनि कपिलवस्तुकी थिइन् । वैशाख २९ गते नवलपरासीबाट काठमाडौंबाट आएकी एक महिलाको कोरोना भाइरस पोजेटिभ भेटिएको छ। उनी कलंकी डेरा लिएर बसेको पाइएको छ ।

मन्त्रालयले पछिल्लो पटक रामेछाप, सिन्धुली, दाङका बासिन्दा भनिएका व्यक्ति पनि काठमाडौं उपत्यकामा बस्ने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । मन्त्रालयका एक उच्च पदाधिकारी भन्छन्, ‘पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएपछि समस्या पर्न थालेको हो । उनीहरूको बसोबास काठमाडौं हुँदा हामीलाई समेत अप्ठेरो परिरहेको छ । तथ्य लुकाउने मनसाय होइन ।’

स्वास्थ्य सेवा विभागअन्तर्गत, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले संक्रमितको कन्ट्र्याक्ट टे«सिङको अगुवाई गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार परीक्षण एवं संक्रमितको कन्ट्र्याक्ट टे«सिङको बेला अधुरो विवरण राख्ने गरेकोले समस्या बढेको बताउँछन् । ‘यस खालको लापरवाहीले काठमाडौं उपत्यकाभित्र संक्रमणको जोखिम झन् बढ्छ’, डा. प्याकुरेलले भने ।

राष्ट्रिय सूचना आयोगका प्रवक्ता कमला ओलीका अनुसार, मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरिएको बताउँछिन् । ‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक-फरक हुन सक्दछ । एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा अन्यौल भएको पाइएको छ’, उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *