कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको शिशु डिस्चार्ज !

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको शिशुसहित परिवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चेकी ती युवतीको थप उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा जेठ ३ गते कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । मृत्युपछि उनको शिशुसहित परिवारलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

शिशुसहित सबैकाे दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरूको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो । शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न अस्पतालले सुझाव दिएको छ ।

मृतक महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । २५ गते सिन्धुपाल्चोक फर्किएकी उनको स्वास्थ्यमा समस्या आएपछि स्थानीय अस्पतालमा लगिएको थियो । अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *