के नेपाल–भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण हुन्छ ? यसाे भन्छन् प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल–भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएका छन् । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गर्नेछौँ । अहिले नै नक्सा तथा सीमाको विषय अन्तर्राष्ट्रियकरण गर्नेबारे कुनै योजना छैन ।’ यदि कुटनीतिक पहलबाट समस्याको समाधान नभए मात्रै अन्तर्राष्ट्रियकरणको योजना बन्न सक्ने उनको भनाइ छ ।

मन्त्रिपरिषदको आजको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । सरकारले हालसालै लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक गरेको थियो । सो नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय भएको हो ।

सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक पनि भइसकेको छ । जसमा भारतले कब्जा गरी आफ्नो नक्सामा समेटेको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *