प्रदेश १ का सांसदहरूको स्वाब संकलन

विराटगर । प्रदेश नं १ को प्रदेश सभाका सांसद, कर्मचारी, सुरक्षाकर्मीका साथै पत्रकारहरुको स्वाब संकलन गरिएकाे छ ।

प्रदेश नं १ को बजेट अधिवेशन जेष्ठ १४ गते बाट सुरु हुँदैछ । भाइरस संक्रमणका कारण बजेट अधिवशन प्रभावित नहोस् भन्ने उद्देश्यले आज (शुक्रबार) सांसद, कर्मचारी, सुरक्षाकर्मी साथै कर्मचारीको स्वाब संकलन गर्न सुरू गरिएकाे हाे ।

कोरोना परीक्षण नगराएकालाई पनि प्रदेश सभा भवनभित्र प्रवेश निषेध गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको बैठकमा सहभागी हुने ९३ सांसद, करिब १ सय प्रदेशसभा सचिवालयका कर्मचारीहरु, २० भन्दा बढी सांसदका चालक, सुरक्षाकर्मीहरु र संसदीय रिपोर्टिङमा खटिने २० जना पत्रकारहरुको स्वाब संकलन थालिएको छ ।

स्वाब संकलनका लागि आएका प्रदेश १ का संसद सदस्यहरुले जनताको स्वास्थ्य रक्षाका लागि सम्भावित सबैको स्वाब पीसीआर विधिबाट टेष्ट गर्न सरकारसँग आग्रह गरेका छन् । सांसदहरुले कोरोना भाइरस एक पछि अर्कोमा सर्दै जाने भएकाले सरकारले तल्लो लेबलसम्म गएर टेष्टलाई तीव्रता दिनुपर्ने धारणा राखेका छन् ।

कोरोना परीक्षण पछि प्रदेश बजेट अधिवेशनभर सांसदहरु, कर्मचारी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन र भरसक क्वारेन्टाइनमा नै बस्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरेका छन् । सभामुख भण्डारीले बजेट अधिवेशनलाई छोटो बनाउन आग्रह गरिएको र अत्यावश्यक विधेयकहरु बाहेक बजेट मात्र पास गराउने तयारी भईरहेको जानकारी दिए ।

यो बैठक हलमा करिब ६० जना सांसदहरु मात्र बस्न सक्नेछन् भने बाँकी सांसदहरुका लागि नेकपा संसदीय दलको कार्यालयमा ३३ जना सांसदहरुलाई राखेर भिडियो कन्फरेन्सिङ मार्फत् बैठकसँग जोड्ने तयारी गरिएको छ । बजेट अधिवेशनमा सहभागी हुने सबैले अनिवार्य माक्स लगाउनु पर्नेछ । प्रदेशसभाको बैठक स्क्रिनमा लाइभ हेर्ने समेत प्रबन्ध मिलाइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *