धान झुल्ने बेला पेनिकल ब्लाईटको प्रकोप, किसान चिन्तित

  • ध्रुवराज खनाल

चितवन । चैते धान झुल्ने बेला रोगले आक्रमण गरेपछि चितवनका किसान चिन्तामा छन् । उत्पादन भई भित्र्याउने बेला रोगको प्रकोप देखिएपछि चितवन खैरहनीका किसानहरु चिन्तित भएका हुन् ।

लकडाउनका कारण समस्या भोग्दै आएका किसानहरुलाई धानमा रोग देखिएपछि अर्को समस्या परेको हो । खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यका अनुसार अहिले नगरको वडा नम्बर ६ र ७ मा पेनिकल व्लाईट रोगले धान बालीमा क्षती पुर्याएको छ । नगरकै वडा नम्वर १३ को केही स्थानमा नेक ब्लास्ट फैलदो क्रममा रहेको छ ।

प्राविधिक सहायक आचार्यले खैरहनी वडा नम्वर ७ मा झन्डै एक सय विगाहामा पेनिकल ब्लाईटको समस्या देखिएको बताए । रोग देखिएको ठाउँमा उत्पादन ८० प्रतिशतसम्म घट्ने अनुमान छ । धानको बालामा कालो देखिने, दुध नपस्ने समस्यालाई विज्ञहरुले पेनिकल ब्लाईट भनेका छन् ।

दुध पसेका धानमा २० प्रतिशत मात्र उत्पादन हुने उनीहरुको भनाई छ । यस्तो किसिमको रोग चैते धानमा देखिने गरेको कृषि शाखाका प्राविधिक सहायक आचार्यले बताए । खैरहनी ६ का किसान कृष्ण धरेलले २९ कठ्ठामा चैते धान लगाएका छन् । उनको सबै धानमा यस्तै रोग देखिएको छ । निस्किएको धानमा कालो धब्बा लागेर पोकटा बन्दै गएको छ ।

विज्ञहरुका अनुसार कुल उत्पादनको २० प्रतिशत मात्र उत्पादन हुनेछ । यसअघि उनले प्रति कठ्ठा २ क्वीन्टल भन्दा बढि धान उत्पादन गर्दै आएका थिए । करिब एक साताको बीचमा धानमा त्यस्तो रोग देखिएको हो । किसान धरेलले सो क्षेत्रफलमा जोताइदेखि हालसम्म ४५ हजार रुपैयाँ खर्च गरिसकेका छन् ।

धानमा रोगको प्रकोप देखिएपछि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीना, कृषि तथा वन विज्ञान क्याम्पस रामपुरका सहप्राध्यापक सन्तोष मरहठ्ठा, धान जोन संचालक समिति अध्यक्ष तेज प्रसाद वर्तौला, परियोजनाका कृषि अधिकृत माधव पौडेल लगायतको टोली शुक्रबार निरीक्षण गरेको छ । निरीक्षण पश्चात् परियोजनाका प्रमुख तिमल्सीनाले चैते धानमा पेनिकल ब्लाईट रोग देखिएको बताए ।

पोटिलो र स्वस्थ बीउ नलगाउँदा र धानमा अनावश्यक रुपमा विषको प्रयोग गर्दा यस्तो समस्या देखिएको तिमल्सीनाले बताए । रोगका बारे थप बुझ्नका लागि परियोजनाको कार्यालयमा सम्पर्क गर्न समेत उनले सुझाव दिएका छन् । खैरहनीमा १ हजार ६ सय ६५ हेक्टरमा चैते धान लगाउने गरिएको छ । जिल्लाको अन्य पालिकाको तुलनामा चैते धान यहाँ बढि हुन्छ ।

कृषिका विद्यार्थी समेत रहेका खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले चैतमा लगाउने धानको बीउ परिवर्तन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । सधैँ एकै किसिमको बीउ लगाउँदा रोगको आक्रमण हुने भन्दै मेयर चौधरीले बीउ परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *