मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

जसले नारायण गाेपाललाई स्वरसम्राट नारायण गाेपाल बनाए

  • प्रकाश सायमी

गायक अरुण थापालाई धेरैले सम्भिए।

अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उनलाई सांगीतिक समाजले सम्झियाे कुनै प्रज्ञा प्रतिष्ठानले। जातजातिका पार्टी वा कुनै जातीय र धार्मिक संगठनबाट पनि उनलाई सम्झिइएन ।

नेपालको रंगमञ्चमा क्रान्ति ल्याउने तीन नाटकमध्ये दुई दार्जिलिङबाट आएका थिए–अनि देवराली रुन्छ र रातको प्रथम प्रहर।

यी नाटकका निर्देशक क्रमशः मनबहादुर मुखिया र प्रताप सुब्बा हुन्। रातको प्रथम प्रहर कथा, अभिनय र निर्देशनभन्दा यसको संगीत परिकल्पनाका कारण सफल भयो। संगीत र मञ्च परिकल्पनाले नेपाली नाट्यजगतमा यसले ठूलो प्रभाव पार्यो, जसको श्रेय संगीतकार दिव्य खालिङलाई जान्छ।

गायक अरुण थापाका प्रारम्भिक गुरु अनि उनका कालजयी गीतका रचनाकार–संगीतकार खालिङ नेपाली समाजका प्रिय कलाकार हुन्। जसले नारायण गोपाल–गोपाल योञ्जनपछि दार्जिलिङ र नेपालको संगीत र नाट्यकर्मलाई जोड्ने काम गरे।

यति धेरै साहित्यिक, सांगीतिक, नाट्य संस्था भएका मुलुकमा उनको सत्कार्यको सम्झना नगरिनु अति दुःखद् कुरा हो।

नारायण गोपाल, अम्बर गुरुङ र गोपाल योञ्जन। यी तीन नामसित खालिङको नाउँ अनुस्यूत भएर आउँछ, उनले गुरु अम्बरसित संगीत सिके, गोपालको संगीतका उनी भक्त भए। नारायण गोपालले उनलाई भव्य परिचय दिलाए, गीतकार एवं संगीतकारका रूपमा।

दिउँसो दुवैको भेट रानीपोखरी अघिल्तिर पालेजस्तै झोक्राएर बसेको पुरानो र थोत्रो भवन नाचघरमा हुन्थ्यो। साँच्चै खालिङ आएपछि नारायणको गायकी र संगीत संयोजन नै बदलियो, उनी नयाँ अवतारमा देखिए।

‘नारायण गोपाललाई गीत गाउन लगाउने मेरो सपना हो’ भनेर आफ्ना नयाँ–पुराना सबै गीत बोकेर खालिङ दार्जीलिङबाट सन् १९७९ मा नेपाल आए। उनको एउटै गीत ‘मायाको आधारमा सम्झौता नै हुन्छ…’ले सारा नेपालीको सपना पूरा गरिदियो।

यही गीतले नारायण गोपाल र खालिङबीच सोम–सोमको नाता जोडियो। यसपछि नै नारायण गोपाल स्वर सम्राटका रूपमा चिनिन थाले।

नारायण गोपालको सेकेन्ड इनिङ सुरुवात हुँदै गर्दा खालिङ आइपुगे। नारायण साथीभाइबाट टाढा हुँदै थिए भने हाकिमका रूपमा नाचघरका कर्मचारी रुष्ट थिए। बजारमा नयाँनयाँ गायक आएर नारायणलाई आँसु र रक्सीका गायकको संज्ञा दिन थालिसकेका थिए। अम्बर गुरुङसितको अनबनले कुनै नयाँ काम हुन सकेको थिएन। रेडियो नेपालमा लगभग नारायण बहिष्कृत थिए, र विशेषतः उनका मीतज्यु गोपाल योञ्जनसितको सम्बन्ध घाटमा आइसकेको थियो। नारायणका अजर–अमर गीत सुनेर फ्यानका रूपमा खालिङ आफ्ना गीत बोकेर नारायणको जीवनमा आए।

बाइबलमा भनेजस्तै ‘लेट देअर बी लाइट एन्ड देअर वज् लाइट।’

दुवैले कम समयमा धेरै दुरीलाई कम गरे। नारायण भर्खर नयाँ घर महाराजगन्ज सरेका थिए, त्यहाँबाट उनी खालिङको डेरा किरण भवन, कालिमाटी, कुपन्डोल सबै धाउँथे। दिउँसो दुवैको भेट रानीपोखरी अघिल्तिर पालेजस्तै झोक्राएर बसेको पुरानो र थोत्रो भवन नाचघरमा हुन्थ्यो। साँच्चै खालिङ आएपछि नारायणको गायकी र संगीत संयोजन नै बदलियो, उनी नयाँ अवतारमा देखिए।

स्वरसम्राट नारायणगाेपालका साथ दिब्य खालिङ, तस्विर, गुगल

‘सधैं नै म हाँसे तिमीलाई रुवाइ’, ‘मायाको आधारमा सम्झौता नै हुन्छ’, ‘विपना नभई बाँचिदिने’, ‘म त लालीगुराँस भएँछु’, ‘तिमी जुन रहरले ममा फुल्न आयौ’, ‘तिमीलाई भुल्दा म एक्लो परेँछु’, ‘प्रेयसीका यादहरू एकान्तमा आज’जस्ता क्षेत्रप्रताप अधिकारीका शब्द र खालिङको संगीतमा वाणीपुत्र नारायण गोपाल गुन्जिएपछि रेडियो नेपालको एक्लो साम्राज्य हल्लिन बाध्य भयो।

फर्माइसी कार्यक्रममा बनाएको ऐतिहासिक आरेख नारायणकै गीत ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ले तोड्यो। लगभग यो गीत राष्ट्रिय गीतको स्तरमा पुग्यो। दिव्य साँच्चै दिव्य संगीतकार बने। यी सबै गीतले नारायण एक्कासि तिनका पनि गायक भए, जो एक किसिमले नारायण गोपाललाई सुन्दैनथे। यसपछि उनले आफ्नो संगीत र खालिङको एरेन्जमा हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ रेकर्ड गरे। यसमा बादल र बर्सातको इफेक्ट–परिकल्पना खालिङले नै गरेका थिए।

‘लार्जर देन लाइफ’ भएका नारायणले दिव्यसित काम गरेपछि नवातग पुस्तालाई आफ्नो संघारमा स्वागत गरे। उनले यही समय सबै युवा संगीतकारको संगीतमा गाए। चन्दन लम्जेल, भुपेन्द्र रायमाझी, शम्भुजित बास्कोटा, शुभबहादुर, दीपक जंगम तीमध्ये यादगार नाम भए।

0000                                          0000                                   0000

नारायणलाई नयाँ परिचय दिने खालिङको आफ्नो जीवनचाहिँ अलिक अनौठो थियो।
‘दिनुपर्ने जे छ, लिनुपर्ने छ
त्यो बराबर हुन्छ, अनुरोध भनिन्छ
मायाको आधारमा सम्झौता नै हुन्छ।’

यस्तै प्रेम सन्देश लिएर उनी अढाइ वर्षदेखि बिछोडिएकी प्रियेसी भेट्न नेपाल आए। काठमाडौं बागबजारस्थित सुपर भेन्यु लजमा प्रेमिका ग्रेसलाई पुनः पाए भने आफ्ना प्रिय गायक नारायण गोपाललाई एकैपटक भेटे–प्रेम र संगीत सँगसँगै।

पोलिस फिल्मकार आन्द्रे वाजदाले भनेझैं प्रेमविना तिमी राम्रो संगीत गर्नै सक्दैनौ। दिव्यको जीवनमा त्यही भयो। दीप श्रेष्ठका फ्यान ग्रेसले खालिङसितको प्रेम–प्रणयपछि उनकै संगीतमा नारायण गोपाल र अरुण थापा सुनिन्।

‘सुगम संगीतमा अल्पसंख्यका गीत गाएर शिखारोहण गरिरहेका अरुण थापाको स्वरितामा दिव्यको संगीतको ओत परेपछि गायनको स्तर र संगीतलाई बुझ्ने धारको फलक बदलियो,’ गायक शैलेश सिंह त्यसै भन्छन्।

नारायण गोपालले अम्बर, गोपाल, चन्द्रराज शर्मा, शिवशंकर, नातिकाजी, शान्ति ठटालपछि पछिल्लो पुस्ताका संगीतकार खालिङसित गरेको सहकार्यले पहाड, तराई अनि सीमापारि पनि तहल्का मच्चायो।

अरुणका प्रायः गीतमा खालिङको संगीत गुन्जिन थाल्यो। ‘पग्लेर जाने हिउँ म हैन’, ‘नपोखिने नजोखिने’, ‘आँखाको निद खोसी लाने’, ‘साँझको जूनसँगै आउँछु तिमी भनेर’ वा ‘मेरो गीत सबै तिमीलाई’ प्रसारणपछि नै अरुण एकाएक लोकप्रिय भए। फलतः आफ्ना समकालीनको छाया र मायालाई छोड्नुपर्यो ।

खालिङ–अरुणको सांगीतिक गठबन्धनले गायक पेमा लामा, पवन गोले, दावा ग्याल्मो, छोडेन कार्थक, ललित सुब्बाबाट खालिङ टाढिए पनि यसै बेला किरण प्रधान, प्रकाश श्रेष्ठ, तारा थापा, विमला राई, भक्तराज आचार्य, दिनेश सुब्बा, दीपक खरेल, कुन्ती सुन्दास, रोविन शर्मासित निकट बने।

विवाहपछि खालिङ आफ्नो घर नजिक किरण भवनमा बस्न आउनु नै अरुणले आफ्ना लागि आशीर्वाद मानेका थिए।

विक्रम गुरुङ, सरोजगोपाल बज्राचार्यसित गायन सुरु गरेका अरुण खालिङलाई गुरु मान्थे। खालिङका चेला राजु सिंह उनलाई ‘संगीतका व्याकरण’ मान्छन्। ‘उहाँलाई पूर्वीय र पाश्चात्य संगीतको स्वरलिपि, वाद्य यन्त्रको रेन्ज, तालको विविधता, राग आदिको ज्ञानले नेपाली संगीतमा छुट्टै छाप छोडेको छ,’ उनी भन्छन्।

खालिङको संगीत संयोजन पक्ष नेपाली जगत्मा सबभन्दा बलियो मानिन्छ। अम्बर गुरुङपछि संगीतको विदेशी नोटेसन लेख्न सक्ने संगीतकार उनीमात्र मानिन्छन्। अर्का संगीतकार दीपक जंगम खालिङको खुबीबारे भन्छन्, ‘उनले संगीत संयोजन गरेका गीतमा दाइ नारायण गोपालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, भक्तराजजीको ‘हजार आँखा छेक्ने’, ‘जति चोट दिन्छौ देऊ मायालु’ उत्कष्टमा पर्छन्।’

संगीतकार खालिङ राम्रा गायक पनि थिए। २०३० सालतिर बागबजारको विदेशीसँग आबद्ध सांस्कृतिक केन्द्र पद्मा सदनमा नारायण गोपालको गीत गाउँदै गरेको देखेको सम्झिन्छन्, गायक दीपक खरेल। उनले त आफ्ना मित्र यादव अमात्यलाई ‘त्यो गीत गाउने को हो’ भनेर सोधेका पनि थिए रे।

२०४१ मा प्रथमपटक रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको गायन प्रतियोगितामा खालिङले नारायण गोपालको गीत हार्मोनियममा आफैं सुनाएका थिए। उनको हार्मोनियम फिटाइ र गायकीले महेन्द्र पुलिस क्लब एकाएक गुन्जिन पुगेको थियो। कैयौंले अर्को नारायण गोपालको आगमन पनि भने। तर, उनले आफ्नै स्वरमा कहिले गीत रेकर्ड गराउन चाहेनन्।

‘दिव्यका देब्रे हातका औंला हामोर्नियमको रीडमा नाच्दा म छक्क परेर हेर्थें। फिट्नु भन्ने शब्द पहिलोचोटि सुनेँ,’ खालिङको हार्मोनियम फिटाइबारे उनकै कान्छा काका एनसी खालिङको सम्झना यस्तो छ, ‘म गीत गाउँथे तर त्यही बेलादेखि बाजा बजाउन छोडिदिएँ।’

बाह्र वर्षको उमेरमै दार्जिलिङस्थित सेन्ट कोलम्बस चर्चमा कान्छा काकाबाट ब्रेक पाएका दिव्यले नेपाली संगीतका धेरै कान्छा गायक–गायिकालाई ब्रेक दिए। जसमध्ये उदय सोताङ, कुन्ती सुन्दास, ओम गुरुङ, राजेशपायल राई, कुबेर राईको नाम आउँछ। रामकृष्ण ढकाललाई गायनमा ब्रेक दिने दिनेश सुब्बालाई पनि उनैले ब्रेक दिएका थिए।

0000                                           0000                                         0000

सन् १९५२ मार्च २८ का दिन पश्चिम बंगाल दार्जिलिङको मिसन कम्पाउन्डमा श्यामसन खालिङ र मार्थाका माइला छोराका रूपमा जन्मेका दिव्य सात महिनामै पोलियोले ग्रस्त भए। शारीरिक अशक्तताका कारण हिँडडुल गर्न नसक्ने भएपछि उनको चकचके जीवनमा बाबुले उपहार दिएको हार्मोनियम नै साथी भयो। पंक्तिकारले २०३९ सालमा लिएको अन्तर्वार्ताक्रममा उनले खुलाएका थिए।

नारायण गोपालजस्तो गायकलाई गीत गाउन लगाउँदा कस्तो महसुस भयो?

खालिङले भनेका थिए, ‘२०२४ सालताका नारायण गोपाल दार्जिलिङ आएका थिए। उनी दार्जिलिङ आउँदा गीतकार, गायक र संगीतकारको जमघट हुने गर्थ्यो। हामी त सानै थियौं। अम्बर सरका पछाडि डुल्न पाउँदा दंग पर्थ्यौं। गोपाल दाजु सिनियर। केही वर्षअगाडि भूपि शेरचनको शब्दमा गोपाल दाजुको संगीतमा ‘अल्झेछ क्यारे पछ्यौरी’ हिट थियो। त्यही साल नारायण नयाँ नेपाली फिल्मको गीत कलकत्तामा रेकर्ड गराएर आएका थिए, ‘बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखा’ हामीले त्यही बेला सुन्यौं। र, त्यति बेलैको मेरो सपना हो नारायण गोपालसित काम गर्ने। आज १५ वर्षपछि पूरा भएको छ। एउटा नेपाली संगीतकारको योभन्दा ठूलो सपना के होला?’

दार्जिलिङको हिमालय कला मन्दिरमा गायक कुमार सुब्बा, दावा ग्याल्मो, पेमा लामा, वाँगेल लामा, मान मोक्तान, बद्रीदुर्गा खरेल, वसन्त क्षत्री, कमल दर्नाल, मेनुका प्रधानसित वर्षौंसम्म हार्माेनियमको नियमन जिन्दगी बिताएर उनले अन्ततः नव कलाकार संघ खोले।

नाटक देखाउन नेपाल आएका खालिङले आफ्नै शब्द–संगीतमा रेडियो नेपालमा मीरा राणाको स्वरमा पहिलो गीत ‘बिर्सिएर मैले फेरि तिमीलाई सम्झिदिएँ’ रेकर्ड गराए। यो गीतले उनलाई रेडियो नेपाल भित्र्यायाे। तर यसअघि नै आकाशवाणी खर्साङमा दावा ग्याल्मोको स्वरमा दिव्यको रचना–संगीतको पहिलो गीत ‘पहाडजस्तो बनिदेऊ तिमी कहिले पनि नझुक्ने, तर सबको बाटोमा पत्थर बनी ठोकर नदेऊ’ हिट भइसकेको थियो।

यसपछि ०३६ सालमा रत्न रेकर्डिङ संस्थानले नारायण गोपाललाई एलपी (लङ प्लेइङ) रेकर्ड गर्ने मौका दिएको बेला खालिङका चार गीत रेकर्ड भए। चारै गीतमा उनकै संगीत, उनकै शब्द।

नारायण गोपालले अम्बर, गोपाल, चन्द्रराज शर्मा, शिवशंकर, नातिकाजी, शान्ति ठटालपछि पछिल्लो पुस्ताका संगीतकार खालिङसित गरेको सहकार्यले पहाड, तराई अनि सीमापारि पनि तहल्का मच्चायो।

‘फाँटहरूले कसलाई पुग्छ
भीरमा पनि फुलिदिन्छु
खुसीमात्र कहाँ हुन्छ
पीरमा पनि भुलिदिन्छु।’

दिव्यले क्षेत्रप्रताप अधिकारीको शब्दमा भरेको यो संगीत साँच्चिकै लालीगुराँस बनेर फुल्यो। यसपछि उनले श्रीपुरुष ढकाल, दिनेश अधिकारी, चेतन कार्की, कञ्चन पुडासैनी, राममणि रिसाल, रवीन्द्र शाह, जस योञ्जन प्यासी, शुद्धि नेपाली, सावित्री खड्का पाण्डे, विश्वम्भर प्याकुरेल, रमण घिमिरे, मदनकृष्ण श्रेष्ठ, अमृतलाल श्रेष्ठ, वीरेन्द्र राई, भूपाल राई, भावेश भुमरीका गीतमा संगीत गरे।

वैवाहिक जीवनपछि उनी ०३८ सालदेखि ग्रेससँग नियमित रूपमा काठमाडौं बस्न थाले पनि सानेपा, झम्सिखेल, जाउलाखेल, कालिमाटी, कुपन्डोल, लगनखेल, धोबिघाटको चक्रमा जीवन चलिरह्यो।

दार्जिलिङ छँदै क्रिश्चियन युवा झुन्डका निम्ति मिनी क्यान्टेटा गरिसकेका दिव्यले नेपालमा आएर कृष्णप्रसाद पराजुलीको कृति ‘जूनतारा’ र राष्ट्रकवि माधव घिमिरेको ‘सुनपंखी चरी’मा शृंखलाबद्ध संगीत गरे। राष्ट्रकवि खालिङका दुई गुण सम्झन्छन्, ‘सही स्वर ज्ञान र शीघ्र रचना। उनले फुटकर गीत र अपेराको निम्ति प्रशस्त स्वर रचना गरे। उनको संगीतमा दिव्य स्पर्श छ।’

०३५ सालमा ‘रातको प्रथम प्रहर’मा संगीत गरेपछि उनले ‘अतृप्त आत्मा’, ‘आघात’, ‘कुहिरोभित्र अल्मलिँदा’ नाटकमा संगीत गरे। आघात नाटकका निम्ति गीत गाउन अरुणा लामालाई भारतदेखि बोलाए उनले। पहिलोपटक यही नाटकका लागि नारायण गोपालको गीत रेकर्ड गराए।

नाटकबाहेक उनले विभिन्न नेपाली फिल्ममा पनि संगीत दिएका छन्। ‘दिदी’मा संगीत गर्दा उनले राष्ट्रियताको नमुना नै देखाए। मुम्बईमा रेकर्ड गरिने गीतमा उनले भारतीय स्वर प्रयोग नगर्ने निर्णय गर्दै सारा कलाकार नेपालबाट लिएर गए। उनको यस कार्यका निम्ति नेपाली फिल्मका प्राविधिक र उद्योग सदैव खुल्ला हृदयले प्रशंसा गर्छन्।

नेपालमा पहिलोचोटि आयोजित अन्तर्राष्ट्रिय स्तरको नेपाल स्काउटको प्रथम ज्याम्बोरीका लागि खालिङले ०४६ सालमा गीत–संगीत तयार गरे। यसका निम्ति उनी सदैव स्काउट जगतमा स्मरणीय छन्।

वैवाहिक जीवनपछि उनी ०३८ सालदेखि ग्रेससँग नियमित रूपमा काठमाडौं बस्न थाले पनि सानेपा, झम्सिखेल, जाउलाखेल, कालिमाटी, कुपन्डोल, लगनखेल, धोबिघाटको चक्रमा जीवन चलिरह्यो।

शारीरिक रूपले धेरै चलमल गर्न नसक्ने खालिङले नारायण गोपाललाई लिएर घुमिरहे– दार्जिलिङ, सिलिगुडी, सिक्किमतिर।

नारायण गोपाललाई एकल साँझका लागि पहिलो पटक उतार्ने खालिङ नै थिए। प्रकाश श्रेष्ठका साथ नारायणको एकल साँझ ०३९ मा दार्जिलिङमा भएको थियो। यसपछि पोखरा र काठमाडौंमा नारायणका एकल साँझ हुन थाले, जसको प्रमुख श्रेय खालिङ नै हुन्।

नारायण गोपाललाई दार्जिलिङ लगेजस्तै उनले दार्जिलिङबाट अरुणा लामा, शंकर गुरुङ, पेमा लामा, कर्म योञ्जन, डेजी बराइली, कुन्ती सुन्दासलाई नेपाल ल्याएर ०३९ सालमा ‘स्मृतिका कोसेली हाम्रा गीतहरू’ आयोजना गरे। जसमा नेपालबाट अभिनेत्री भुवन चन्दसँगै यो पंत्तिकार पनि सहभागी थियो। कार्यक्रम आयोजना नारायण गोपालले गरेका थिए, जसको संयोजक दिव्य खालिङ।

यसबाहेक ०४४ सालदेखि करिब दुई दशक ज्ञानोदय स्कुलमा खालिङ संगीत शिक्षक बने। केही समय धोबीधारास्थित आफ्नै संगीत सिर्जनालयमा संगीतको प्रशिक्षण पनि दिए।

०६० को सुरुवाततिर अचानक मेजर स्ट्रोक भएपछिका दुई वर्ष चानचुन खालिङको चलायमान जीवन संगीतमा होइन, शैय्यामा नै स्तब्ध भयो। उनको निम्ति कोही भएनन्, आफ्नो पुरानो साथी हार्मोनियमले पनि उनको साथ छोड्यो। समय उनको लागि तस्बिरजस्तै स्थिर भयो।

तीन छोरा र एक छोरीका पिता दिव्य अचानक पूर्णतः ग्रेसमाथि निर्भर हुन पुगे। उनलाई चिकित्सा विज्ञान र औषधोपचारले काम नगरेपछि मौनतापूर्वक २५ जून २००६ मा यस धरतीबाट बिदा लिए। काठमाडौंबाट दार्जिलिङ र दार्जिलिङबाट काठमाडौं एउटा शोकको लहर छरियो। उनको आफ्नै शब्दमा भनिएजस्तै उनी सर्वत्र यसरी गुन्जिए–

विपना नभई बाँचिदिने मभित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना।

दिव्यले नारायण गोपाललाई ब्लुजभित्र समेटेका ब्ल्यु नोट्सका कारण सदा स्मरणीय छन् भने नारायणको गीति यात्रामा उनको उपस्थिति सदैव छ, सोमको रूपमा। गायक किरण प्रधानले गाएका ‘पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदेऊ’, ‘बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ’, भक्तराजको स्वरमा ‘जून लाग्यो लेक ढाकी, जून आउँछ रातिराति’ वा दीप श्रेष्ठले गाएको टेलिशृंखला ‘अविरल बग्दछ इन्द्रावतीका’ गीत हुन्; बिर्सन गाह्रो छ। फरक यति हो, हामी कतिको सम्झिन्छौं!
दिव्यबारे नगेन्द्र गोर्खाले लेखेका छन्,

‘दिव्य खालिङको नाउँलाई एकपटक दार्जिलिङले सोचेको हुन्छ।
दिव्य खालिङको नाम हजारपल्ट नेपालीले सोचिरहेकै हुन्छ।’

प्रतिकृयाहरु
Loading...