भारतबाट नेपाली फर्किने क्रम बढ्दो, सीमामा परीक्षण नहुँदा झन् जोखिम

काठमाडौं । कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको छ ।

दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनीयरिङ कलेजको क्वारेन्टिनमा राखेर कोरोना सङ्क्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको थियो । सीमामा अलपत्र यात्रुको चाप बढेसँगै यहाँको क्वारेन्टिनमा जम्मा गरेर स्वास्थ्य परीक्षण नै नगरी ४२९ जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । सम्बन्धित पालिकासितको समन्वय हुन नसक्दा १७ जना भने क्वारेन्टिनमै छन् ।

प्रहरीले बुधबार पनि ४०० भन्दा बढी नागरिकलाई पठाएको थियो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले भारतबाट आएका गोरखा, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप र दैलेखलगायत जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने गरी पठाइएको जानकारी दिए ।

कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले जनशक्ति अभाव र आरडिटी परीक्षणका लागि किटको समेत अभाव रहेको बताए । ‘पालिका र जिल्लामा गरी आरडिटी गर्न हामीसित ४०० थानमात्रै किट मौज्दात छ’, उनले भने, ‘हामीसित जनशक्ति छैन, सीमाबाट सुरक्षा निकायले ल्याउँछन्, परीक्षण गर्न आग्रह गरेर मात्रै गर्ने गरिएको छ ।’

कोरोना परीक्षण नगरी भारतबाट आएका नागरिकलाई पठाउँदा कोरोनाको सङ्क्रमण जोखिम बढेको छ । सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी र दोधारा चाँदनीदेखि ब्रह्मदेव क्षेत्रबाट अवैधरुपमा भित्रिने क्रम बढेको हो । दशगजामा अलपत्र अवस्थामा रहेका नेपालीलाई दोधारा चाँदनीको महाकाली नगरपालिकाले खानपिनको व्यवस्थासमेत गर्दै आएको छ ।

केही समययता सुदूरपश्चिम नाकाबाट भारतबाट घर फर्किनेको क्रम ह्वात्तै बढेको छ । यसअघि गत चैतमा सुदूरपश्चिममा भारतबाट मात्रै एक लाख ४३ हजार नागरिक घर फर्किएका थिए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पालिकाले आफैं आरडिटीलगायतका स्वास्थ्य परीक्षण आफैँ गर्छौं भनेपछि यहाँ आउनासाथ सम्बन्धित ठाउँ पठाउन थालिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *