तिमी भएर पो के भो र ? (कविता)

तिमी जाऊ
झिमिक्कै साँझ परिसक्यो
अब त जानेवेला भो
तिमी सदाको निम्ति जाऊ

तिमीले समयसँग मजाक गर्यौ
उनीहरूसँग गहिरो संगतनै गरेनौ
तिमी भएर पनि के भोर
नभए पनि के नै हुन्छ र !
खुरूक्क तिमी जाऊ
आफ्नो बाटो समाऊ
तिम्रा आसेपासे सबै लिएर
पछि नफर्कीकन जाऊ

तिमीलाई उनीहरूले हातहातमा उचाले
काखकाखमा च्यापे
ठुलो आषा र भरोसा राखे तर
तिमीले उनीहरुलाई चिन्नै सकेनौ
तिमीलाई जंगभन्दा रंग प्रिय भो
समयको मागभन्दा अहमता ज्यादा भो
त्यसैले तिमी अब जानै पर्छ बरू छिटो जाऊ

तिमीले दीनहिनको रोदन
झुपडीको पीडासँग मितेरी गांस्नै सकेनौ
उनीहरूको बीचमा सधैं महान बनिरह्यौ
तिम्रो घमण्डले उनीहरूदेखी टाढा बनिरह्यौ
भो अब जानैपर्छ तिमी जाऊ

निर्धनको पीडा र अभाव के हो देख्यौ ?
उनीरूको अन्तर आत्मामा पुगेर हेर्यौ ?
थाहै नपाई जादै छौ जाऊ
ढिलो नगरी जाऊ अनि म आउछु
तिमी जाऊ अनि म आउछु
म गर्जन र उषा बोकेर आउछु

-देवेन्द्र बस्याल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *