गलकोटमा ‘खरको छाना’ विस्थापित गर्ने अभियान सुरु

बागलुङ। गलकोट नगरपालिकामा ‘खरको छाना’ विस्थापित गर्ने अभियान सुरु भएको छ। गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले वडा नम्बर ६ का तीन परिवारलाई जस्ता पाता हस्तान्तरण गरी अभियान सुरु गरेका हुन्। गलकोटलाई ‘खरको छाना’ मुक्त बनाउने अभियान नगरको गौरवको योजना अन्तर्गत रहेको बताए।

‘नगरपालिकामा रहेका खरका छाना विस्थापित गर्न जस्ता पाता वितरण सुरुवात गरेका हौँ,’ नगर प्रमुख गैरेले भने। विपन्न परिवारले आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँ देखि ‘खरको छाना’मा जीवनयापन गरिरहेका नागरिकलाई स्थानीय सरकारले जस्ता पाता वितरण सुरु गरेको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिइन्। यस योजनाका लागि स्थानीय सरकारले आर्थिक वर्ष २०७६/०७७ मा गलकोट नगरपालिकाले ६० लाख रकम विनियोजन गरेको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विश्वकर्माले जानकारी दिए।

गलकोट नगर भित्र खरको छाना विस्थापित गरी जस्ता पाताले घरहरू छाइने काम अब तत्कालै सुरु गरिने गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिए। अब क्रमशः वडा नं ५ का तीन परिवार, वडा नं ९ का १४ परिवार, वडा नं २ मा ८ का परिवारलाई वितरण गरिने बताइएको छ। त्यस पश्चात् अन्य वडामा पनि जस्ता पाता वितरण गरिने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए।

प्राविधिक टोलीले प्रत्येक वडाको घर घरमा पुगेर नाप जाँच गरी यथार्थ र वास्तविक विवरण सङ्कलन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ। यस वर्ष वितरण गर्दा अपुग भएमा आगामी वर्ष त्यसलाई पुनः निरन्तरता दिइने गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए। गलकोट नगरपालिकामा सबै भन्दा धेरै वडा नं ११ मा २०० घरमा खरको छाना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *