कर्णाली प्रदेशमा थपिए तीन जना कोरोना सङ्क्रमित
काठमाडौं। कर्णाली प्रदेशका थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिए ‘रिकन्फर्म टेस्ट’मा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ। यसअघि दैलेखका एक पुरुषमा सङ्क्रमण देखिएको थियो।
शनिवार कोरोना सङ्क्रमण पुष्टि भएका तीन जना जेट ८ मा भारतबाट आएका हुन्। उनीहरूको यसअघि प्रदेश अस्पतालमा पिसीआर परीक्षण गर्दा रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको थियो। त्यसपछि थप परीक्षणको लागि शुक्रवार नेपालगञ्ज पठाइएको थियो।
सङ्क्रमित २२ वर्षीया एक महिला र २५ तथा ३२ वर्षीय दुई पुरुष रहेका छन्। उनीहरू बराहताल गाउँपालिकाका र चौकुने गाउँपालिकाका हुन्। सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।