अब हामी हाम्रो जमिन छोड्दैनौँ, फिर्ता लिएरै छोड्छौँः निता ढुंगाना

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले राष्ट्रका लागि आफू मर्न र मार्न पनि तयार भएको बताएकी छिन् ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेपछि नायिका नीताले भिडियो लाइभमार्फत् नेपाली नागरिकले पहिलो प्राथमिकतामा राष्ट्र अर्थात् नेपाललाई राख्नुपर्ने बताइन् ।

‘म एउटा नेपाली नागरिक हुँ । म यो जन्मभूमिमा जन्मिएकी मान्छे हुँ र मैले आफ्नो राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसपछाडि मात्रै मेरो परिवार हो, मेरा साथीहरु हुन् । हाम्रो पहिलो प्राथमिकता राष्ट्र हो’, उनले भिडियोमा भनेकी छिन् ।

पहिले सरकारले यसबारे कुनै निर्णय नगरेका कारण आफू चुप बसेको र अब सरकारले कदम चालिसकेपछि सबै नेपाली एकजुट हुनुपर्ने, हार मान्न नहुने उनको भनाइ छ । ‘हामी हार मान्नेवाला छैनौँ । हामी हाम्रो देश कदापि दिँदैनौँ । अब हामी सिमानामा गएर मर्न पनि तयार हुनुपर्छ र मार्न पनि तयार हुनुपर्छ । हामी हाम्रो जमिन छोड्दैनौँ । फिर्ता लिएरै छोड्छौँ’, उनी भन्छिन्– ‘छिमेकीलाई दान दिने होइन, अब हामी एकजुट भएर लड्नुपर्छ । अब आफू–आफू झगडा गरेर हुँदैन । राष्ट्रको सवालमा हामी एकजुट हुनुपर्छ ।’

सरकारले राष्ट्रको पक्षमा साहसिक कदम चालेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छिन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नै बोलेर, नक्सा सार्वजनिक गरिसक्नु भएको छ । अब हामी कन्भिन्स भयौँ । म पनि कन्भिन्स भएँ । अब म पनि बोल्छु । म उहाँको यो कामलाई सेलुट गर्न चाहन्छु ।’

यस्तै उनले भारतीय मिडियाले नेपाल तथा बलिउड अभिनेत्री मनिषा कोइरालाविरुद्ध लेखेको, बोलेकोमा आपत्ति जनाइन् । नेपालविरुद्ध छिमेकीले नराम्रो बोल्दा सहन आफूले सहन नसक्ने, रगत उम्लिएर आउने उनी बताउँछिन् । अभिनेत्री मनिषा आफ्नो पौरखले नाम, दाम कमाएको र कसैले फोकटमा पैसा नदिएको उनको भनाइ छ ।

उनले भारतीय जनसमुदाय तथा मिडियालाई नेपाली प्रधानमन्त्रीको नाम पनि सम्मान गरेर लिन भनेकी छिन् । ‘हाम्रो प्रधानमन्त्रीको नाम सम्मानका साथ लिनुस् । किनकी उहाँ हामी नेपालीको अभिभावक हो । हामी उहाँको परिवार हौँ’, उनको भनाइ छ ।

भोलिको अवस्थामा विवाद चिर्किएर जे पनि हुन सक्ने भन्दै उनले सरकारले अब आत्मनिर्भर बन्नतर्फ सोच्नुपर्ने उनले बताएकी छिन् । ‘भोलि गएर जे पनि हुन सक्छ । मिल्न पनि सकिन्छ होला । युद्ध पनि हुन्छ कि ! जे पनि हुन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्छ’, उनले भिडियोमा भनेकी छिन्, ‘अब हामी आत्मनिर्भर बन्नुपर्छ । हामी भारतबाट आयात गर्नुपर्ने खाद्यान्न हाम्रै देशमा उत्पादन गरौँ । यही मेहेनत गरौँ न । किन विदेश गएर बस्नुपर्छ । किन हामी अरुको भर परेर बस्ने ? यहीँ पौरख गरौँ न !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *