शान्ति सुरक्षासँगै सामाजिक कार्यमा पनि सक्रिय नेपाल प्रहरी

  • सुजता लिम्बु

विराटनगर । युवा नेता वोसिम आलमको नेतृत्वमा ५५ दिनदेखि निशुल्क खाना खुवाउने अभियानलाई वडा प्रहरी कार्यालयले पनि साथ दिएको छ । लकडाउन ६० दिन पुग्दै गर्दा विराटनगरका सडक पेटीमा जीवन व्यतित गर्ने, दैनिक ज्याला मजदुरी गर्नेहरुको दैनिकी संकटमा परिरहेको अवस्थामा प्रहरीले पनि युवाहरुको कार्यलाई साथ दिएको हो ।

वोसिम आलमको नेतृत्वमा युवाहरुले दैनिक निःशुल्क खाना खुवाउँदै आइरहेका छन् । साथै यो समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जनताको स्वास्थ्य रक्षाका लागि अग्र भागमा रहेर आफ्नो कर्तव्य निभाइरहेका छन् ।

लकडाउनको पहिलो दिन अर्थात् (चैत्र ११) देखि बिहानको समय होस् या मध्य दिनको चर्को घाम, कुनै पर्वाह नगरी सडकमा जनतालाई घर बाहिर ननिस्कनुस् भन्दै आग्रह गरीरहेको अवस्थामा भेटिने वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएसपी वेद प्रसाद गौतम र प्रहरी निरिक्षक विकास राई सँधै दौडधुपमा नै भेटिन्छन् ।

घर परिवार, आफ्नो स्वास्थ्यको कुनै पर्वाह नगरी देश र जनताको सुरक्षाका लागि खटिरहने डिएसपी गौतम र प्रहरी निरिक्षक राई निःशुल्क खाना खुवाउने अभियानमा सक्रिय रहेका युवाहरुलाई थप हौसला प्रदान गर्न आइतबार बिहान सडकमा पुगेका छन् ।

जनताको जिउधनको सुरक्षा, देशको शान्ति सुरक्षामा मात्रै होईन नेपाल प्रहरी सामाजिक कार्यमा पनि उतिकै सक्रिय भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् वडा प्रहरी कार्यालयका प्रहरी अधिकृतद्धय गौतम र राई ।

जब बिहानको ९ः३० को समय हुन्छ, सडकमा बस्ने प्रत्येक मानिसहरुको आँखा बाटो तिर हुन्छ । ‘कुन बेला बाइकको हर्न बज्छ भन्दै बाटो हेर्छौ हामी’, खाना खान बसेका धनन्ज्य मण्डलले भने ।

कमाई सडकमा नै थियो, फोहोर बटुलेर त्यहीँबाट आएको पैसाले पेट भर्ने गरेको उनले सुनाए । तर लकडाउन सुरु भएसँगै उनको दैनिकिमा पनि लक लाग्यो । अहिले कामविहिन छन् उनी । उनले भने, ‘हातमा काम नहुदा पनि पापी पेट नमान्दो रहेछ, लकडाउनको ५ दिनसम्म त भोकै सुतेँ । जब यी भाईहरुले साँझ र बिहान खाना खुवाउनु भयो, त्यो दिनदेखि बाँच्ने आशा पलाएको छ ।’

उनको जस्तै सडकमा बस्ने थुप्रैको कथा उस्तै छ । ती मध्ये रामपृत महतोको पनि आफ्नै कथा छ । उनी भन्छन्, ‘घर छोडेको वर्षौ भयो, अब त घरले पनि बिर्सियो होला ।’ उनी पनि सडकमा नै बस्छन्, सडकको पेटिमा नै रात बिताउँछन् ।

यस्तै संकटकको अवस्थामा युवाहरुले फुटेर होईन जुटेर समाजका लागि केहि गर्न निःशुल्क खाना खुवाउने अभियानका युवाहरुबाट केहि सिक्न जरुरी रहेको डिएसपी गौतमले बताए । उनले भने, ‘युवाहरुको निःस्वार्थ कामका लागि साथ सहयोग, हौसला रहनेछ ।’

सडकमा जीवन व्यतित गर्ने कुनै पनि मानिसहरु साथै दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु भोकै रहनु हुन्न भन्ने उद्देश्यका साथ नि:शुल्क खाना खुवाउने अभियान सुरु गरेको युवा नेता वोसिम आलमले बताए ।

वडा प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतम र प्रहरी निरिक्षक विकास राईले निःशुल्क खाना वितरणमा साथ दिँदा थप युवाहरुमा हौसला मिलेको आलमको भनाइ छ । उनीहरुले सडक पेटीमा बस्ने २ सय ६४ जनालाई दैनिक खाना खुवाउँदै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *