कोरोना नियन्त्रण गर्न मन्त्रीहरूलाई जिल्लागत जिम्मेवारी दिएर खटाऊः कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गम्भीर हुन सरकारसँग आग्रह गरेका छन्। अध्यक्ष थापाले मन्त्रीहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि जिल्लागत जिम्मेवारी दिएर खटाउन सुझाव पनि दिए।

सामाजिक सञ्जालमा ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै थापाले भनेका छन्, ‘काम नभएका मन्त्री जीहरूलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस्।’

उनले लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेर जारी गरिएको नयाँ नक्सा घरघरमा पुऱ्याउँदै हिँड्नु सस्तो लोकप्रियता भएको टिप्पणी गरे। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधवार जारी गरेको नक्सा मन्त्री पद्मा अर्यालले शीर्ष नेताहरूको घरघरमा पुगेर हस्तान्तरण गरिरहेकी छन्।

थापाले भनेका छन्, ‘नेताहरूको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोड्नोस्।’ उनले सार्थक कूटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

शुक्रवार काँग्रेस सभापति शेरबहादुर देउवालाई नक्सा हस्तान्तरण गरेकी मन्त्री अर्यालले शनिवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतलाई निवासमा पुगेर नक्सा हस्तान्तरण गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *