एक हप्ता पहिले भारतबाट आएका थिए बाराका २१ संक्रमित
काठमाडौं । आज पुष्टि भएका बारा जिल्लाको गडीमाई नगरपालिकाका २१ जना कोराना भाइरस (कोभिड १९) संक्रमितहरु एक हप्ता पहिले भारतबाट आएको खुलेको छ ।
हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका २१ संक्रमितहरु एक हप्ता पहिले भारतबाट आएको गडीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मकालु खबरलाई जानकारी दिए ।
नगरप्रमुख यादवका अनुसार भारतका विभिन्न स्थानबाट आएका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । ५ दिन पहिले ३० जनामा पीसिआर परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको हो ।
३० वटा मात्रै किट उपलब्ध भएका कारण त्यति मात्रैमा परीक्षण भएको उनले बताए । अहिले पनि उनीहरु क्वारेन्टाइनमा नै छन् । सबैको स्वास्थ्य अवस्था समान्य रहेको उनले जानकारी दिए । उनीहरुलाई कलैयाको आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।