५ वर्षीया बालिकाकाे उपचारका लागि सहयाेग जुटाउन समिति गठन
- भरतराज शर्मा (गोपाल)
सनुसरी । जिल्लाको बराहक्षेत्र–५ नडाहा सिमर वनकी ५ बर्षीया देवी बराईलीको उपचार खर्च जुटाउनका लागि समित गठन गरिएको छ । आर्थिक अभावले उपचार पुरा हुन नसकेको समाचार मकालु खबर डट कम लगायतका विभिन्न अनलाइन मिडियामा प्रकाशित भएपछि ‘देवी बराईली उपचार सहयोग संकलन समिति’ गठन भएको हो । समिति गठन भएसँगै ती बालिकाको उपचारका लागि सहयोग आउन थालेको छ ।
सामाचार प्रकाशन भएकाे भोलिपल्ट जेठ ११ गते आइतबार धरानबाट केही पत्रकार सहितका एक टोली सिमर वन बालिकाको घरमा पुगि साथीहरुसँग समन्वय गरी समिति गठन गरेका हुन् । सिल्पी विशेष समिति १ नम्बर प्रदेश समिति अध्यक्ष नरेश विश्वकर्माको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो ।
समितिका सदस्यहरुमा धरानका कृष्ण लिम्बू, सागर सरगम चेम्जोङ, लिलिस पोमु, कुमार प्रधान, छत्र बहादुर कालिकोटे, बराहक्षेत्र ५ का नरेश राई, कुमारी लिम्बू, पत्रकार खड्ग लिम्बू, दिनेश कटुवाल र बरहा–३ का मनोज प्रधान रहेका छन् ।
उक्त टोलीमा कृष्ण लिम्वु, कुमार प्रधान, युवराज धमला, सुरेश लिम्बू, , प्रबोध साप्ताहिक अनलाइनका लम्जेल सङ्घर्षशील, नविन रम्तेल र एन पी अनलाइनका निमा पोङ्श्यूवाले सहजकर्ताको भुमिका निभाइरहेका छन् । टोलीले आर्थिक संकलन समेत सुरु गरिसकेको छ । संकलित रकम ५ हजार रुपैयाँ आइतबार देवी बराइलीकी आमा लक्ष्मी बराइली र बुवा उमेश विश्वकर्मालाई घरैमा पुगेर हस्तान्तरण गरिएको थियो ।
समितिले संकलन गरेको रकम बालिकालाई अस्पतालसम्म पुर्याउने वातावरण तयार गरी एकमुष्ट रुपमा हस्तान्तरण गरिने समितिका संयोजक नरेश विश्वकर्माले जानकारी दिए । उपचार सहयोग अभियानलाई तिव्र रुपमा अघि बढाएर जतिसक्दो चाँडो बालिकालाई उपचार गराउन सहयोग गर्ने समेत समितिले जनाएको छ ।
आर्थिक अवस्था कमजाेर भएकाले २७ दिनसम्म विराटनगरको म्याक्स अस्पतालमा उपचार गरी फर्कनु परेको बालिकाकी आमा लक्ष्मी बराईलीले जानकारी दिइन् । आर्थिक अभावका कारण उपचार पुरा नगरी फर्किनु परेको उनले गुनासो गरिन् । स्थानीय अस्पताल हुँदै विराटनगरको म्याक्स अस्पतालसम्म उपचार पुर्याउँदा बालिकाको उपचारमा डेढ लाखभन्दा बढी खर्च भएको उनको भनाइ छ ।
बालिकाको उपचारका लागि आर्थिक अभाव भएको समाचार सार्वजनिक भए लगतै धरान–११ का प्रशिल राईले २ हजार, बराहक्षेत्रका प्रदिप ढकाल र गुरुप्रसाद धमलाले २/२ हजार, धरानका युवराज धमलाले १ हजार र इन्द्र फोम्वो र रुपा राईले ५/५ सय रुपैयाँ आर्थिक सहयोग गरेका थिए । जसमध्ये ५ हजार रुपैयाँ भने बराइली परिवारलाई आइतबार नै हस्तान्तरण गरिएको थियो ।
अहिले ती बालिकालाई भरौल स्वास्थ चौकीमा दिन बिराएर ड्रेसिङ गराउँदै घरैमा राखिएको पत्रकार नबिन रम्तेलले जानकारी दिए । ड्रेसिङ गर्न हरेक पटकमा ५ सय १५ रुपैययाँ लाग्ने गरेको उनले बताए ।
बराईली दम्पत्तिले आफ्नी ५ बर्षिया छोरीको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक संघ/संस्था वा व्यक्तिले ९८१९००६२३५ मोबाइल नम्बरमा सम्पर्क गरी आर्थिक तथा अन्य कुनै सहयोग गर्न आग्रह पनि गरेका छन् ।