चौंथो काेराेना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमित चौँथो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।
सोमबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जको नेश्नल मेडिकल कलेजमा गएको ४ गते ज्यान गुमाएका कलैया ७ बाराका ७० वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार ती व्यक्तिमा पहिले नै श्वासप्रश्वास सम्बन्धी समस्या थियो । श्वास फेर्न गाह्रो भएर गएको जेठ २ गते अस्पतालको आइसीयूमा भर्ना भएका थिए । ‘जेठ ३ गते उनको थ्रोट स्वाब संकलन गरिएको थियो । ४ गते मृत्यु भयो । जेठ ५ गते नै उहाँको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयागशालामा पठाइसकिएको छ’, प्रवक्ता देवकाेटाले भने ।
अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्तिम संस्कार गरिसकेका छन् । यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।