‘महोदय, के तपाई त्यो हिम्मत गर्न सक्नुहुन्छ ?’

फिलिप डिसी
प्रसंङ्ग दुई अगाडिको हो, एउटा लाइभ इन्टरभ्यूमा नेपाली चलचित्र कि चर्चित नायिका बर्षा राउतले दुई वटा कुरा इङ्गित गर्न पुगिन् ।
१) दुई वटा देशको पत्रकारहरुले लिपुलेक कालापानी र लिम्पियाधुराको समस्या हल गर्ने भन्दा पनि समस्या मौलाउने काम गर्दैछन् ।
२) अर्को दुई देशका पत्रकारले गरेका कृयाकलापले मलाई र भारतीय साथिहरुलाई अर्कामा फेस गर्न गाह्रो भएको छ ।
नेपाली चलचित्रकी एउटी सफल नायिका जो आधा दशकदेखि नेपाली कलाकारितामा छिन्, उनले बोलेको एउटा इन्टरभ्यूको १५ सकेण्डको दृश्य मात्र थियो ।

करिब आधा घण्टा बढिको इन्टरभ्यूको दौरानमा कसैले १५ सेकेण्डको भिडियो क्लिप तयार पारिदियो र उनलाई एकाएक भाइरल बनाइदियो । हुन त आजभोली भाइरलकै जमाना छ । भाइरल हरुले नै देश चलाई रहँदा अर्को एउटा भाइरल हुने कुरा आयो नौलो भएन । तर, बर्षा राउतलाई भाइरल बनाउन सार्वजनिक गरिएको त्यो भिडियो अहिलेको सन्दर्भमा कत्तिको सुहाउँदो, कत्तिको ब्यवहारिक र कत्तिको इन्टरटेनिक थियो तथा भिडियो भाइरल भएपछि त्यसले बर्षा राउतलाई, हाम्रो समाजलाई कस्तो प्रभाव पार्यो त्यो महत्वपूर्ण विषय हो ।

मलाई लाग्छ माथिका दुई बुँदामा बर्षा राउतको थोरै बोल्ने शैली भन्दा बाहेक अरु कुनै कुरा गलत छैन । ३० मिनेटको भिडियोमा उनले कतै नेपालको मायाँ लाग्दैन भनेर भनेको पाईंदैन । यदि पुरै भिडियो हेर्ने हो भने उनले नकारात्मक कम सकारात्मक ज्यादा बोलेकि छिन् ।

उनको पहिलो बुँदालाई पनि सकारात्मक लिने हो भने धेरै सत्यता छ । नेपाली राष्ट्रियताका सवालमा आज नेपालका मिडिया भन्दा भारतीय मिडियाको बोली अत्यन्त निर्लज्ज र कुण्ठा मिसिएको छ । उनीहरु कुनै ठोस आधार दस्तावेज विना कुर्लिएका छन् । अनि नेपालका केहि अनलाइन र युटुबरहरु पनि तिनीहरुकै सिको गर्दै भाइरल हुन र बनाउन राष्ट्रियताका विषयमा बकम्फुसे तर्क गर्दै आवश्यकता भन्दा बढि अनावश्यक उत्तेजित भइरहेका छन् । सबै मिडिया होइन तर, नेपालकै पनि कतिपय अनलाइनले कस्तो कस्तो टाइटल राखेर समाचार बनाएका छन् हामी देख्न सक्छौं ।

मैले यहाँ बर्षाले सहि बोलिन् भनेर उनको सफाई पेश गरेको हैन । साथै बर्षा राउतको समर्थन मात्रै गर्न खोजेको पनि हैन । मैले मात्र राष्ट्रियताका सवालमा मात्र हैन अन्य विषयमा पनि हाम्रो समाज कता जाँदै छ त्यसको एउटा पाटो केलाउने कोशिष गरेको हुँ ।

याे पनि हेर्नुहाेस

वर्षा राउतको स्पष्टिकरण–‘बोल्दै जाँदा जिब्रो चिप्लियो’

बर्षा राउत बोल्ने शैलीमा थोरै चुकेकि नै हुन् र उनले यो स्विकारी सकेकि पनि छिन् । एउटा देशको कलाकारले आफुबाट गल्ती भएको स्विकार गरीसकेको अवस्थामा पनि उसलाई जुन किसिमले समाज र सोसल साइटमा नङ्ग्याईदैछ, जसरी उनको फोटोहरुलाई इडिट गरेर अश्लिल बनाईदैछ, त्यो अत्यन्त निकृष्ट हर्कत हो । यो काम एउटा राष्ट्रियताको भावना भएको आफुलाई सामाजिक प्राणी मान्ने मानवले पक्कै गर्न सक्दैन ।

जसरी तपाई कसैको छोरा हुनुहुन्छ, श्रीमान हुनुहुन्छ, छोरी बुहारी, श्रीमती हुनुहुन्छ त्यसरी नै बर्षा राउत पनि कसैकी छोरी हुनुुहुन्छ, बुहारी हुनुहुन्छ अनी श्रीमती हुनुहुन्छ । त्यो भन्दा बढि उनी राष्ट्रको कलाकार हुनुहुन्छ । देशको प्रतिनिधित्व गर्ने साझा कलाकार हुनुहुन्छ । यदी तपाईहरु अहिले उहाँको ठाउँमा भइदिएको भए वा तपाई, तपाईको श्रीमती, तपाईको छोरी, तपाईको बहिनी, तपाईकी प्रेमीका वा अरु कोही जसलाई तपाई सम्मान गर्नुहुन्छ त्यो ब्यक्ति भइदिएको भए के गर्नु हुन्थ्यो ? के तपाई त्यो ब्यक्तिको तस्विर इडिट गरेर मोदीसँग विवाह गरेको बनाइदिने हिम्मत गर्नुहुन्थ्यो, तपाई अश्लिल शब्द लेखेर उसको मानमर्दन गर्ने हिम्मत गर्नुहुन्थ्यो ? महोदय, पक्कै सक्नुहुन्न ।

अरुको इज्जत माथी खेलवाड गर्दै, अनाधिकृत तवरले तस्विर विगार्दै आफुलाई संसारकै ठूलो राष्ट्रवादी ठान्ने महोदय, बर्षा राउतको टाउको काटेर आमाबाबु, छोरी, श्रीमती र दिदिबहिनीका अगाडी पढ्न नसक्ने शब्द फेसवुक र ट्विटरमा पोस्ट गरेर तपाईको राष्ट्रवाद र राष्ट्रभक्ति देखिँदैन । त्यो त तपाईभित्रको कुण्ठा हो । तपाई भित्रको पशुत्व हो । के तपाइलाई लाग्छ आफ्नै चेलीलाई उदाङगो गरेर तपाईको राष्ट्रबादबाट पग्लिएर भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा रातारात फिर्ता गर्छ ? तपाईका ती शब्दहरु पढेर वीर बलभद्र र अमर सिंह थापाको जस्तो देशका लागि कसैको रगत उम्लन्छ ? महोदय, पक्कै उम्लँदैन । तपाईका ती फोहरी शब्द जसले पढ्छ तीनीहरु क्षणिक आत्मरतीमा रमाउनु वाहेक केही गर्न सक्दैनन् । त्यसकारण महोदय, कसैले गल्ती गर्यो र त्यो गल्तीलाई स्विकार गरेर पटकपटक माफी मागिरहेको छ भने, उसलाई क्षमा दिनु जत्तिको महानता अरु केही हुनै सक्दैन ।

कठै तपाइको सोच, कठै तपाईको खोक्रो राष्ट्रबाद…

तपाईले राष्ट्रबादको नाममा जे गर्दै हुनुहुन्छ त्यो अपराध हो । बर्षाले गल्ती गरिन् माफि पनि मागिन तर, तर तपाई त माफिको लायक पनि हुनुहुन्न । जसले अश्लिल प्रहार गर्नुभएको छ तपाई बलात्कारी हो, तपाईले पोस्ट गरेको अश्लिल पोस्टले कसैको मानसम्मान र प्रतिष्ठाको खुलेआम बलात्कार भएको छ ।

कलाकार भनेको राष्ट्रका गहना हुन्, एउटा कलाकार बन्नुमा धेरै मेहनत र संघर्ष आवश्यकता पर्दछ । एउटा सानो भिडियो क्लिप हेरेर उनले बिगतमा राष्ट्रको लागि गरेको योगदानको अवमुल्यन गर्नु उचित हुँदैन । उनले ३० मिनेटमा बोलेका राम्रा कुराहरु कसैले बुझ्ने कोशिष गर्नुभयो ? पक्कै छैन । यदी तपाईले त्यो ३० मिनेटको भिडियो हेरेर प्रतिकृया दिनुपर्ने भए मलाई लाग्छ तपाईले १५ सेकेण्डको क्लिप हेर्दा लेखेका शब्दहरु ३० मिनेटको भिडियोमा लेख्न तपाईका हातहरु काप्थे होलान् ।
स्वनामधारी राष्ट्रवादी महोदय, म तपाईलाई अवगत गराउन चाहन्छु, त्यो ३० मिनेटको भिडियोमा बर्षाले राष्ट्रियताका पक्षमा पटकपटक बोलेकी छिन् । लिपुलेक कालापानी र लिम्पियाधुराका पक्षमा वकालत गरेकी छिन् । अतिक्रमित नेपाली भूमी फिर्ता ल्याउन सबै प्रमाण जुटाउनु पर्नेदेखि कुटनीतिक पहल गर्नुपर्ने बताएकी छिन् । मनिषा कोइरालाका पक्षमा बोलेकी छिन् । आफ्ना पेजहरुमा स्टाटस लेखेकी छन् ।

पुरै भिडियो नहेरी एउटा बुँदामा आएर उनले शब्द चयन गर्न नजानेको सामान्य विषयलाई जिवनकै ठूलो अपराध गरे जस्तो गरी देशद्रोही, राष्ट्रघाती भनेर अश्लिल संवोधन गर्नु कत्तिको न्यायोचित हो ?

मलाई थाहा छ, कुनै ब्यक्ति सामाजिक हुन्छ भने त्यहाँ उसको ब्यक्तिगत जिवनीको अर्थ रहन्न । बर्षा एउटा सार्वभौमसत्ता सम्पन्न मुलुककी साझा कलाकार हुन् । र, कलाकारिताको कुन भाषा देश र परीवेश हुँदैन । ऊ पृथ्वीमा रहेको सबैको साझा हो । सानो होस् वा ठूलो उनको आफ्नै विशेषता छ, उनीमा कलाकारिता र देश प्रेम छ । यदी उनीसँग देश प्रेम नहुँदो हो त मुलुकको कलाकारिताको लागि समर्पित हुने काम गर्ने थिइनन् ।

जनता र दर्शकले आफ्नो मनपर्ने कलाकारबाट यस किसिमको गल्ति हुनुमा चित्त दुखाउनु अस्वभाविक पनि हैन । तर, त्यसको बदलामा उनलाई समाजकै तल्लोस्तरको गाली गलौज गर्नु, मानमर्दन गर्नुपनि त ठिक हैन । अपराधीले पनि अपराध कवुल गरीसकेपछि अथवा उसले अपराध गरेको आधार देखिएपछि मात्र कानुनले सजाय दिने गर्दछ । बर्षा राउतलाई त तपाई जस्ता स्वनाम राष्ट्रवादीले जिउँदै मारी दिइसक्नु भयो । कलंकित बनाइदिई सक्नुभयो । तपाईहरुले गरेको यो गल्तिको सजाँय कसले दिने ? कसरी दिने ?

बर्षा राउतले पटक–पटक माफी माग्दै राष्ट्रियताको लागि, मैले केहि गरेर हाम्रो जमिन फिर्ता हुन्छ भने म कालापानीमा गएर झुण्डिन तयार छु भनि सकेकि छिन् । के तपाई त्यो हिम्मत गर्न सक्नुहुन्छ ?

सक्नुहुन्छ भने महोदय तपाईको राष्ट्रवादलाई मेरो सलाम छ, हैन भने नेपाली समाज, नेपाली कल्चर विपरित जिउँदो मान्छेलाई नमार्नुहोस्, कलंकित नपार्नुहोस् । तपाईले छद्मरुप धारण गरेर सामाजिक सञ्जालमा हालेको पोस्टले कसैको घर विग्रन सक्छ, कसैको जिवन रित्तिन सक्छ त, कसैको करियर सकिन्छ । एउटा प्रतिभावान कलाकारको कलाकारिताको अन्त्य हुने काम नगरौं ।

कहिलेकाहिँ मान्छेबाट गल्ती हुन सक्छ, गल्ती मान्छेबाट नै हुने हो । बर्षाबाट फाँसी नै दिनुपर्ने गल्ती भएकै छैन । त्यसकारण हाम्रो समाज र राष्ट्रको प्रतिनिधित्व गर्ने एउटा उर्जावान कलाकारको कलाकारितामा उ भित्रको राष्ट्रियतामा प्रश्न नउठाउँ ।
हामी सबै यो बेला कोरोना महामारीको चपेटामा छौं । हामी मात्र हैन विश्व नै कोरोनाको कहरबाट गुज्रिरहेको बेला तपाईले घरभित्रै बसेर कोरोना सँग लड्दै गर्दा त्यो समयलाई सृजनशील काममा खर्च गर्नुहोस् । त्यसले तपाईमा सकारात्मक सोचको विकास गर्दछ । जसले तपाईको मात्र हैन, तपाईको परीवार, समाज र राष्ट्रकै उत्थानमा योगदान गर्नेमा दुईमत छैन ।

मलाई लाग्छ हामीले लोकतन्त्र, गणतन्त्र भनेर वैयक्तिक स्वतन्त्रताको बढि नै उपयोग गर्यौं कि ? हामीले सामाजिक सञ्जालमा हालेको पोस्ट, ब्यक्त गरेका भावना हेर्दा हामीले लोकतन्त्र र गणतन्त्रमा नाममा हाम्रो सामाजिक मुल्य र मान्यता नै पो सखाप पार्दै छैनौं ? आज गम्भिर प्रश्न खडा भएको छ ।

लोकतन्त्रमा बिरोध गर्न पाइन्छ तर, बिरोधको नाउमा अरुको चरित्र हत्या गर्ने, करियर सिध्याउने, वैयक्तिक स्वतन्त्रता हनन गर्न कदापी पाइन्दैन । आफ्नो अधिकार उपभोग गर्नुहुन्छ भने तपाईले अरुको अधिकार हनन भयोकि भएन ध्यान दिनै पर्दछ । अरुको सम्मान गर्न सिक्नुहोस तपाई आफैं सम्मानीत हुनुहुनेछ ।

अन्तमा,

बर्षा राउतमाथि जे भयो त्यसलाई बिर्सिदिऊँ, बर्षा जीले आवेगमा आएर वा जिब्रो चिप्लिएर जे बोलिन् त्यसलाई पनि विर्सिदिउँ । आगामी दिनमा राष्ट्रियताका विषयमा मात्र हैन कुनैपनि विषयमा आफ्ना विचार र धारणाहरु राख्दा संयमित, मर्यादित र शिष्ट भाषा प्रयोग गरौं जसले यो समाजलाई सूसंस्कृत सभ्य बनाउन मद्दत गर्नेछ । यो कुरा कलाकार जो राष्ट्रका गहना हुन् उनीहरुले पनि बुझ्नु पर्छ भने हामी सामाजिक प्रयोगकर्ताले पनि मनन गर्नैपर्ने हुन्छ ।

 बर्षाजीको कलायात्रा चलिरहोस, स्वनाम राष्ट्रवादी महोदयको पनि बुद्धि फिरोस, शुभकामना !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *