लकडाउनको बेला भ्रष्टाचार बढ्दै जाने खतरा छ, सञ्चारमाध्यमले खबरदारी गर्नुपर्‍योः देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिति र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन्। सभापति देउवाले भ्रष्टाचार, अनियमितताका बारेमा निडर भएर समाचार लेख्न सञ्चार माध्यमलाई आग्रह पनि गरे।

‘स्वास्थ्य सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण सञ्चार माध्यममा आए। तपाईंहरूले निडरतापूर्वक लेख्नु भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कारबाही गर्नुपर्नेमा उल्टै सञ्चार माध्यम र सामाजिक सञ्जालले अस्थिरता फैलाएको आरोप लगाउनुभयो।’ देउवाले प्रधानमन्त्री ओलीलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न आग्रह गरेका छन्।

कोरोना महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै देउवाले सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न छोड्न नहुने बताए। ‘लकडाउन भएको दुई महिना पूरा भयो, पर्याप्त परीक्षण छैन। क्वारेनटाइन कि गाई गोठ सोध्नुपर्ने स्थिति छ। पर्याप्त स्वास्थ्य सामग्री छैन। अत्यावश्यक राहतको उचित व्यवस्थापन छैन। विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कुनै योजना छैन। यस्तो स्थितिमा मिडियाले अझै खरो ढङ्गले आवाज उठाउन जरुरी छ’ उनले भने ।

देउवाले कोरोना महामारीको जोखिमका बेला पत्रकारिताको काम सजिलो नभएको भन्दै देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताए। वीरगञ्जलगायत ठाउँमा पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको भए पनि सरकार गम्भीर नभएको देउवाको आरोप छ। ‘देशभरका पत्रकारको नि:शुल्क परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *