चौरजहारी घटना संसद प्रवेशः गृहमन्त्रीले भने– घटनामा राजनीतिकरण हुँदैन

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमबीचका केही युवा र विवाहको विषय संसद प्रवेश गरेको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको राजनीतिकरण नहुने आश्वासन दिएका छन् । संसदमा उनले भने, ‘राज्यको तर्फबाट घटनाको निष्पक्ष छानविन गर्नेछौँ । दोषीहरुलाई कडाभन्दा कडा सजाय दिनको निम्ति म प्रतिबद्धता जाहेर गर्दछु ।’

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेकाे थियाे । केटीकाे आमाले हारगुहार गरेपछि स्थानीय जम्मा भइ केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । ज्यान जोगाउन हाम फालेकामध्ये ३ जनाको शव फेला परेको छ भने ३ जना अझै बेपत्ता छन् ।

हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ । हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ ।

मन्त्री थापाका अनुसार युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लासहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *