काेराेना अपडेटः देशभर ५८२ जना आइसोलेसनमा, कति संक्रमित निको भए ?
काठमाडौं । देशभर आज (मंगलबार) सम्म ५५ हजार २८२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
प्रवक्ता देवकोटाका अनुसार आइसोलेसनमा ५८२ जना छन् । त्यस्तै आज नारायणी अस्पतालबाट थप ४३ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएसँगै संक्रमित मुक्त हुनेको संख्या १५५ पुगेको छ । उनीहरु ११ औँ दिनदेखि १६ औँ दिनसम्मको अवधिमा डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकाहरु १२४ जना पुरुष र ३१ जना महिला छन् ।
देशभर हालसम्म पिसिआर विधिबाट ५४ हजार ४२४ र आरडिटी विधिबाट ९७ हजार ९६७ वटा थ्रोट स्वाब नमुना परीक्षण भएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । आज थप ९० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७७२ पुगेकाे छ । सबैकाे अवस्था सामान्य रहेकाे प्रवक्ता देवकाेटाकाे भनाइ छ ।