कांग्रेसले भन्योः चौरजहारी घटना दलित समुदायमाथिको हिंसा

काठमाडौं। नेपाली कांग्रेसले रूकुम पश्चिमस्थित चौरजहारी नगरपालिका सोतीमा भएको घटना दलित समुदायमाथिको हिंसा भएको बताएको छ। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई नृशंस हत्याकाण्ड भएको उल्लेख छ।

कांग्रेसले उक्त घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेको छ। ‘कुनै मोलाहिजा बेगर दोषीलाई कडा कारबाही गर्न नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। सामाजिक विभेद र बिसंगति, राज्य प्रशासनको भूमिका र निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न भनेर कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत पाएको पनि विज्ञाप्तिमा उल्लेख छ। दोषीको पहिचान गरी कानूनत अधिकतम दण्ड दिन पनि कांग्रेसले माग गरेको छ। भेरी नदीमा बेपत्ता भनिएकाहरुको खोजी तदारुकताका साथ गर्न पनि कांग्रेसले माग गरेको छ।

यस्तो छ विज्ञप्ति:

रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेको छ।

घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको छ। देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ।

घटनाले उब्जाएको ३ प्रश्न

(१) सामाजिक विभेद र विसंगतिको प्रश्न
कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद् छ। नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ।

(२) राज्य प्रशासनको भूमिकामा प्रश्न
लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ ।

(३) निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न
केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं । जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।

घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गर्दछ। साथै घाइते युवाहरूको सिघ्र स्वास्थलाभको कामना गर्दछ ।
जय नेपाल !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *