रुकुम पश्चिम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : साझा पार्टी

काठमाडौं । साझा पार्टीले रुकुम पश्चिमको चौरजहारी घटना मानवताविरुद्धको बर्बर अपराध भएको बताएको छ । आज एक विप्ति जारी गर्दै साझा पार्टीले रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध भएको बताएको हो ।

उक्त घटनामा थप पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन् ।

पार्टीका संयोजक रविन्द्र मिश्रले घटनाबारे छानविन गर्न बनेको पाँच सदस्यीय समितिलाई राजनीतिक प्रभावबाट टाढारहन साझा पार्टीले खबरदारी गरेको बताएका छन् । उनले भनेका छन्,’सत्तारूढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको त छ, तर घटनालाई सामसुम पार्न राजनीतिक सकृयता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ।’

यस्तै, उनले राजनीतिक दल र सामाजका अगुवाहरुले जातीकय भेदभाव हटाउन नसकेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो यो लगायत मुलुकका अन्य क्षेत्रमा पनि बारम्बार भइरहने दलितविरुद्धको भेदभावले नेपालको संविधानले न्यायपूर्ण, भेदभावरहित र समावेशी समाजको परिकल्पना गरे पनि गाउँ(गाउँसम्म आफ्नो प्रभुत्व र प्रभाव रहेका राजनीतिक दलहरू र समाजका अगुवाहरूले जातीय भेदभावको मध्ययुगीन पाशविक कृत्यलाई हटाउन नसकेको स्पष्ट संकेत गर्दछ।’

साझा पार्टीले घटनाको छानविन गरी दोषीमाथि कडा भन्दा कडा सजायको माग गरेको छ । ‘जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नको लागि संवैधानिक र कानूनी व्यवस्था गरेरमात्र पुग्दैन। त्यसको प्रभावकारी, व्यवहारिक कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको निर्माण गरियोस्, दोषीमाथि कडाभन्दा कडा सजायँको स्पष्ट व्यवस्था गरियोस् र राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गरोस् भनी साझा पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

छुवाछुत तथा जातीय विभेदविरुद्ध शुन्य सहनशीलतामा विश्वास गर्ने भन्दै आम सर्वसाधारणलाई पनि अग्रपंक्तिमा रहेर विभेदविरुद्ध काम गर्न साझा पार्टीको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *