‘उद्योगी ब्यवसायीहरु ढोका लगाएर सुतेका छन्, सरकारले राहत ल्याओस्’
कोरोना भाईरसले अहिले विश्वलाई नै उथलपुथल बनाईदिएको छ । यसले आर्थिक लगायत सबै क्षेत्रमा ठुलो असर पुर्याएको छ । कोरोनाका कारण देशको अर्थतन्त्र र व्यवसायी प्रति परेको असर र यो संकटको अवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? खैरहनी चेम्बर अफ कमर्शका उपाध्यक्ष, चितवन अटोडिलर्स एसोसियसनका बोर्डका सदस्य, २५ वर्ष लामो व्यवसायीक यात्रा पारगरि सफल व्यवसायीको रुपमा स्थापित भएका समाजसेवी समेत रहेका कालिका मोटरसाइकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारी सँगको कुराकानीको सम्पादीत अंशः
विश्वव्यापी कोरोना महामारीलाई कसरी लिनु भएको छ ?
प्रकृतिले हामीलाई सधैं दिइरहेको छ । तर कहिलेकाँही प्रकृतिको विपरित केहि गर्छौं भने यस्ता विपत्ति आईरहेको इतिहास हेर्न सकिन्छ । आज विश्व कोरोनाको चपेटामा रहेको छ । यसले विश्व अर्थतन्त्रलाई नै धरासायी बनाएको छ ।
बलियो स्वास्थ्य प्रणाली भएका विश्वकै शक्तिशाली भनिने देशहरुले कोरोना प्रकोपका कारण कमजोर भइरहेका छन् । सबैभन्दा ठूलो आर्थिक तथा मानवीय क्षति विकसित देशहरुले नै व्यहोरेका छन भने हामी साना देशहरुको हालत पनि कम छैन ।
२०१९ डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वलाई लकडाउन बनाएको छ । विज्ञहरुले कोरोनाको प्रकोप आगामी दुई वर्षसम्म जाने अनुमान गरेका छन् । तसर्थ मैले कोरोना महामारीलाई शताब्दीकै ठूलो विपत्तिका रुपमा अनुभूत गरेको छु । र, अब यसबाट कसरी सुरक्षित हुने, कस्तो सुरक्षा विधि अपनाएर यसलाइ न्यूनिकरण गरि मानव जिवनलाई सहज बनाई अघि बढने भन्ने प्रमुख विषय हो ।
कोरोना महामारी र विश्वको र नेपालको अर्थतन्त्रलाई कस्तो प्रभाव पारेको छ ?
कोरोनाले विश्वकै अर्थतन्त्र डगमगाएको देखिन्छ । विकसित देशदेखि अर्धविकसित हुँदै विकासोन्मुख र अतिकम विकसित देशहरुको अर्थतन्त्र ठप्प छ । यसवर्ष दक्षिण एसियाको सबैभन्दा आर्थिक वृद्धिदर उच्च रहेको भुटानको थियो । उसलाई समेत कोरोना प्रकोपले अफ्टेरोमा पारिदिएको छ ।
हाम्रो देश निर्यातभन्दा आयात बढि गर्ने भएकोले यसको प्रभाब अझ बढि पर्नेछ । देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थला पर्यो । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २९ प्रतिशत योगदान रहेको थियो । वार्षिक ८ खर्बको हाराहारीमा भित्रने रेमिट्यान्स अहिले चार प्रतिशत तल पुगिसकेको छ । आउँदा दिनमा खाडी मुलुकबाट फर्कनेको सङख्यामा ४ लाख हाराहारी हुने र रेमिट्यान्समा १५ प्रतिशतको गिरावट प्रक्षेपण गरिएकोले अब नेपालको आर्थिक बृद्दिदरको सूचकांक दुई अंकमा पुग्न सक्दैन । कृषि क्षेत्रको पनि २७ प्रतिशत योगदान रहेको छ । उद्योग, कलकारखाना घरेलु तथा मझौला व्यवसायको नेपालको अर्थतन्त्रमा उल्लेखिय योगदान रहेकोमा यस महामारीले त्यसलाई पनि नराम्ररी गाँजेको छ । अर्थविद्हरुको विश्लेषण हेर्दा यो वर्ष मुलुकको आर्थिक वृदिदर १.७५ देखि २.५ प्रतिशतमा झर्ने देखिएकोले नेपालको विकासमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।
नेपालमा उद्योग धन्दा तथा विभिन्न ब्यवसाय गर्नेहरुको अवस्था कस्तो छ ?
भनिरहनै पर्दैन सबै ब्यवसायी ढोका थुनेर बसेका छन् । दुइ महिना पुरा भइसकेको छ लकडाउन । पछिल्लो दुई साता याता कोरोना संक्रमणको बृद्दिदर बढ्दो अवस्थामा रहेकाले लकडाउन अझ लम्बिने प्रष्ट छ ।
अब नेपालको अर्थतन्त्रलाई चलाउन सरकारले राहतका प्याकेज ल्याउन आवश्यक देखिन्छ । यो कुरा विभिन्न व्यवसायी र व्यवसायिक संगठनहरुले लिखित तथा मौखिक रुपमा माग गरिरहेका छन् । म आफैं पनि धेरै खालका व्यवसायिक संगठनमा रहेकोले नेपाली ब्यवसायीहरुले भोगेका समस्याहरु विभिन्न निकायमा पुर्याउने काम गरेको छु । तर, लकडाउन भएको दुई महिना वितिसक्दा पनि सरकारले कुनै राहतका प्याकेज ल्याउन नसक्नु विडम्बनाको कुरा हो ।
सरकार निजी क्षेत्र, व्यवसायी तथा उद्योग कलकारखाना बचाउने तर्फ उदार भएन । यस्तै हो भने अब उद्योगी व्यवसायीले आफ्नो व्यवसायबाट हात धुनुपर्ने अवस्था आइपुग्छ । बैंकको चर्को ब्याजदर, कामदारहरुको अभावकाविच नेपालको अर्थतन्त्रलाई चलायमान गराईरहेका निजी क्षेत्रलाई राज्यले नसमेट्नु भनेको सरकार निजी क्षेत्र, उद्योगी ब्यवसायी मैत्री रहेनछ भनेर प्रष्टिएको छ ।
यो महामारीको अवस्थामा अब उद्योगी व्यवसायीको चुनौति र समस्यालाई सरकारले कसरी व्यवस्थापन गर्नुपर्ला ?
मुख्य रुपमा यो बेला सरकारले हामी उद्योगी ब्यवसायीलाई राहतको प्याकेज दिन आवश्यक छ । नेपालमा धेरै ब्यापार ब्यवसायहरु बैंकबाट लोन लिएर चलिरहेका छन् । सरकारले सफ्टलोनको ब्यवस्था गरे उनीहरुलाइ राहत हुन्थ्यो । बाहिरबाट आयात गर्ने कच्चापदार्थ देखि सामग्रीमा भन्सार छुट गर्ने, कर मिनाहा गर्ने जस्ता प्याकेज ल्याए राहत हुन्थ्यो । लकडाउन कहिलेसम्म चल्ने आंकलन गर्न सकिँदैन । धेरै सङख्यामा कर्मचारी, घर भाडा सम्मको चुनौति छ । कोरोनाको कहरले ओरालो लागेको अर्थतन्त्र उकास्न सरकारले रोजगारी र राहतबाटै मोडालिटी बनाएर काम गर्नुपर्छ ।
अब बैदेशिक रोजगारीबाट लाखौंको संख्यामा युवाहरु लकडाउन खुल्ने वित्तिकै स्वदेश आउँछन् । उनीहरुलाई कसरी सेटल गर्ने, कसरी रोजगारी दिलाउने सरकारलाई ठूलो चुनौति रहेकोले ती विषयमा ध्यान दिनुपर्दछ ।